काठमाडौँ- गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभामा आफ्ना विषयमा उठेका प्रश्नहरूको जवाफ दिन समय माग गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय बैठकपछि उनले संसद्मा धारणा राख्न समय मागेको जानकारी दिएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्रीको सचिवालयका अधिकारीहरू लगायतको उपस्थितिमा बालुवाटारमा बसेको बैठकमा संसद् सञ्चालनसम्बन्धी विषयमा पनि छलफल भएको थियो। गृहमन्त्री लेखकका अनुसार सोही बैठकबाट प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेर संसद् खोल्ने विषयमा कुराकानी गरेका थिए।
‘संसद्मा बोल्नका लागि मैले समय माग गरेको छु। संसद् अगाडि बढ्न दिने कि नदिने भन्ने विषय प्रतिपक्षको धारणा हो,’ गृहमन्त्री लेखकले बताए।
त्यसैबीच संसद् भवनमै प्रतिपक्षी दलहरू—माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादीलगायतका नेताहरूको बैठक जारी रहेको छ। उनीहरूले संसद् अवरोधको निरन्तरताबारे रणनीति तय गर्ने उद्देश्यले बैठक बसिरहेका हुन्।