यस वर्षको मनसुनमा झन्डै २० लाख नेपाली प्रभावित हुने प्राधिकरणको अनुमान

काठमाडौं – सरकारले आगामी मनसुन अवधिमा देशभर ४ लाख ५७ हजार १ सय ४५ घरधुरीका १९ लाख ९७ हजार ७ सय ३१ जनसंख्या प्रभावित हुने अनुमान गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको वर्षा प्रक्षेपणको आधारमा यस्तो आँकलन गरेको हो।

विभागका अनुसार यस वर्ष देशका अधिकांश भू–भागमा सामान्यभन्दा बढी वर्षा हुने सम्भावना छ। विशेषगरी गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सबैभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ।

सोही आधारमा प्राधिकरणले लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै ५ लाख २३ हजार ६५६ जनसंख्या प्रभावित हुने आँकलन गरेको छ। प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार लुम्बिनीमा १ लाख १९ हजार ८३० घरधुरी मनसुनको जोखिममा पर्नेछ।

लुम्बिनीपछि बागमती प्रदेशमा ३ लाख २७ हजार ३७६, गण्डकीमा २ लाख ८७ हजार १०७, कोशीमा २ लाख ७५ हजार ८६७, मधेशमा २ लाख २८ हजार ६८७, सुदूरपश्चिममा २ लाख २७ हजार ७३० र कर्णाली प्रदेशमा सबैभन्दा कम १ लाख २७ हजार ३०८ जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ।

जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रहरू थप संकटमा परेका बेला यस वर्षको मनसुन अवधिमा हिउँ पर्ने भूभागहरूमा समेत औसतभन्दा बढी वर्षा र तापक्रम बढ्ने संकेत देखिएको विज्ञहरू बताउँछन्। यस्तो अवस्था दिगो वातावरणीय सन्तुलनका लागि चिन्ताजनक संकेत मानिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्