काठमाडौँ – राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) काठमाडौँ जिल्ला कार्यसमितिको संयोजन तथा काठमाडौँ महानगर समितिको आयोजनामा पाँचौं जिल्लाव्यापी अन्तर–विद्यालय हाजिरीजवाफ प्रतियोगिता आयोजना हुने भएको छ।
प्रतियोगिता यही जेठ १६ गतेदेखि १८ गतेसम्म काठमाडौँ महानगरपालिका–७, चावहिलस्थित विनायक सिद्ध कलेजको हलमा सञ्चालन हुने आयोजकहरूले जनाएका छन्। प्रतियोगिताको टाइसिट वितरण बुधवार पत्रकार सम्मेलनमार्फत गरिएको थियो।
कार्यक्रम संयोजक प्रकाश श्रेष्ठका अनुसार प्रतियोगितामा कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरू सहभागी हुने छन् भने ७० भन्दा बढी विद्यालयहरूको सहभागिता रहनेछ। पत्रकार सम्मेलनमा नेसनल प्याब्सन काठमाडौँ महानगर समितिका अध्यक्ष नवराज पाण्डेले हाजिरीजवाफ प्रतियोगिता विद्यार्थीहरूको समग्र विकासमा महत्वपूर्ण हुने बताउँदै प्रतियोगितामा उल्लेख्य सहभागिता रहने विश्वास व्यक्त गर्नुभयो।
नेसनल प्याब्सन काठमाडौँ जिल्ला उपाध्यक्ष प्रेमकुमार भुजेलले विभिन्न चुनौतीहरूका बाबजुद प्रतियोगितामा सहभागी विद्यालयहरूको उत्साहजनक उपस्थिति उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो। साथै उहाँले विद्यार्थीहरूको सर्वाङ्गिण विकासका लागि यस्ता प्रतियोगितामा विद्यालय तथा अभिभावक सबैको सक्रिय सहयोग आवश्यक हुने उल्लेख गर्नुभयो। पत्रकार सम्मेलन तथा टाइसिट वितरण कार्यक्रम महानगर कमिटीका सचिव सुनिल केसीको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा नेसनल प्याब्सन काठमाडौँ जिल्ला र महानगर कमिटीका पदाधिकारीहरू, सदस्यहरू तथा विभिन्न विद्यालयका प्रिन्सिपलहरूको उपस्थिति रहेको थियो।
प्रतियोगितामा प्रथम हुने टिमलाई १० हजार, द्वितीयलाई ७ हजार, तृतीयलाई ५ हजार र चौथो हुने टिमलाई ३ हजार नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक समितिले जनाएको छ।