काठमाडौं – बस वा रेलमा उभिएर यात्रा गरेको देखिएला, तर हवाईजहाजमा उभिएर यात्रा गरेको दृश्य अचम्म लाग्न सक्छ । तर अब त्यो सम्भावना वास्तविक बन्ने तयारीमा छ ।
युरोपेली केही ठूला एयरलाइन्स कम्पनीहरूले छोटो दुरीका उडानमा यात्रुहरुलाई सस्तो भाडा दरमा उभिएर यात्रा गराउने योजना सार्वजनिक गरेका छन् । ‘फस्ट पोस्ट’ र ‘युरो विक्ली न्युज’ले सार्वजनिक गरेका रिपोर्टहरू अनुसार दुई घण्टाभन्दा कम समय लाग्ने उडानमा मात्रै उभिएर यात्रा गराउने तयारी भइरहेको छ ।
‘स्काई राइडर २.०’ – स्याडल शैलीको सिट
उभिएर यात्रा गर्न मिल्ने सिटलाई ‘स्काई राइडर २.०’ नाम दिइएको छ, जसलाई इटालीको कम्पनी ‘एभियो इन्टेरियर्स’ले सन् २०१८ मै डिजाइन गरेको थियो । यो सिट साइकलको सिट जस्तै देखिन्छ । यात्रुका लागि ढाड र टाउको अड्याउन सपोर्ट, अनि सुरक्षा सिटबेल्टको सुविधा पनि राखिएको छ ।
यस सिटको तौल सामान्य विमान सिटको तुलनामा करिब आधा मात्र हुने हुँदा इन्धनको खपत घट्ने र विमानको तयारी समय पनि छोटिने बताइएको छ । अगाडि–पछाडिको सिट दूरी घटाइएकाले यात्रुहरू निक्कै नजिक–नजिक हुनेछन् ।
सुरक्षा परीक्षण पास, नियामक स्वीकृतिको पर्खाइ
स्काई राइडर सिट राखिएको हवाईजहाज आपतकालीन अवस्थाको सुरक्षा परीक्षणमा सफल भइसकेको छ । तर, उडान नियामक निकायहरूबाट अन्तिम स्वीकृति भने आउन बाँकी छ । योजना सफल भए सन् २०२६ को सुरुवातदेखि यस्तो उडान व्यावसायिक रूपमा सुरु गर्ने तयारी छ ।
प्रतिक्रिया: उत्साह र आलोचना
यस अवधारणाले यात्रुहरूबाट मिश्रित प्रतिक्रिया पाएको छ । सस्तो टिकटमा यात्रा गर्न सकिने भएकाले केही यात्रु उत्साहित छन् । तर, लामो समयसम्म उभिएर यात्रा गर्नुपर्ने, असहज र सम्मानजनक नहुने भन्दै आलोचना गर्नेहरूको संख्या पनि कम छैन ।
कतिपयले यसलाई रेलमा भीडभाडमा उभिएर यात्रा गरेको जस्तै भएको टिप्पणी गरेका छन् ।
वैश्विक चासो
युरोपमा सफल परीक्षण भएमा अमेरिका, दक्षिण अमेरिका र एशियाली देशहरूका एयरलाइन्सले पनि यस्तै सेवा सुरु गर्ने सम्भावना रहेको अनुमान गरिएको छ । उडानको लागत घटाउने प्रयासका रूपमा हेरिएको यो नयाँ प्रयोग यात्रुको सुविधा र सुरक्षाबीचको सन्तुलन कसरी कायम राख्छ भन्नेमा अहिले उद्योगका विज्ञहरू केन्द्रित छन् ।