काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को समूह चरणको रोमाञ्चक अन्त्यसँगै प्लेअफमा प्रवेश गर्ने चार टिमहरूको टुंगो लागेको छ। सबै १० टिमले १४/१४ खेल पूरा गरिसकेका छन्।
गएराति सम्पन्न समूह चरणको अन्तिम तथा निर्णायक खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गर्दै शीर्ष दुईमा स्थान सुरक्षित गरेको छ।
उत्कृष्ट प्रदर्शन गर्दै बैंगलुरुको जित
लखनउ सुपर जायन्ट्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै निर्धारित २० ओभरमा मात्र ३ विकेट गुमाएर विशाल २२७ रनको लक्ष्य खडा गर्यो। जवाफी ब्याटिङमा उत्रिएको रोयल च्यालेन्जर्स बैंगलुरुले १८.४ ओभरमै २३० रन बनाउँदै उत्कृष्ट जीत दर्ता गर्यो। यस जितसँगै बैंगलुरुले प्लेअफमा पन्जाब किङ्ससँगै शीर्ष दुईको स्थान सुरक्षित गर्यो।
यी टिम पुगे प्लेअफमा
समूह चरणको समाप्तिसँगै पन्जाब किङ्स, रोयल च्यालेन्जर्स बैंगलुरु, गुजरात टाइटन्स र मुम्बई इन्डियन्स प्लेअफमा पुगेका छन्।
- पन्जाब किङ्स र रोयल च्यालेन्जर्स बैंगलुरु शीर्ष दुईमा रहेकाले उनीहरूले क्वालिफायर–१ खेल्ने छन्। हार भए पनि फाइनल पुग्न अर्को मौका उनीहरूलाई रहनेछ।
- गुजरात टाइटन्स र मुम्बई इन्डियन्स भने इलिमिनेटरमा आमनेसामने हुनेछन्, जहाँ हार्ने टिमको यात्रा यहीँ समाप्त हुनेछ।
समूह चरणको समाप्तिसँगै आईपीएल २०२५ प्लेअफ चरण अब झन रोमाञ्चक हुने पक्का भएको छ। शीर्ष चार टिमबीचको प्रतिस्पर्धाले उपाधिको दौडलाई थप चर्काउनेछ।