काठमाडौँ — देशभर हाल पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीको असरले देशको पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा सफा देखिने मौसम कायम रहेको छ।
गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अहिले चट्याङसहित हल्का वर्षा भइरहेको जनाइएको छ। मौसम महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी प्रदेशलगायत पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुने अनुमान गरिएको छ।
आज राति पनि बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस प्रकारको मौसमको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ। मौसमको यो परिवर्तित अवस्था मनसुन प्रवेशसँगै थप सक्रिय हुने संकेतका रूपमा पनि हेरिएको छ। हाल मनसुन अरब सागरको मध्य भाग, भारतका महाराष्ट्र, मुम्बई, कर्नाटक, तेलाङ्गाना, आन्द्र प्रदेशलगायतका विभिन्न क्षेत्र हुँदै उत्तर–पूर्व भारतका राज्यहरूमा फैलिएको छ भने बङ्गालको खाडी र उत्तरपूर्वी भारतका अन्य भागहरू हुँदै नेपालतर्फ क्रमशः अगाडि बढिरहेको छ।
महाशाखाले आगामी दिनहरूमा मौसमको थप जानकारीका लागि आधिकारिक सूचना र पूर्वानुमानहरूमा ध्यान दिन पनि आग्रह गरेको छ।