एमाले युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित, पदाधिकारीमा पनि उनकै प्यानल विजयी

काठमाडौँ – नेकपा (एमाले) निकट भ्रातृ संगठन युवा संघ नेपालको दशौं महाधिवेशनबाट क्षितिज थेबे पुनः अध्यक्षमा निर्वाचित भएका छन्। यसअघि नवौं महाधिवेशनबाट अध्यक्ष बनेका थेबेले यो पटक पनि नेतृत्व सम्हाल्ने अवसर पाएका हुन्। पोखरामा सम्पन्न अधिवेशनमा थेबेले ७९६ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धी सुमन पुरीलाई १८८ मतको अन्तरले पराजित गरे। पुरीले ६०८ मत प्राप्त गरेका थिए।

संगठनमा लामो समयदेखि सक्रिय पुरी आठौं महाधिवेशनबाट उपाध्यक्ष र नवौं महाधिवेशनबाट महासचिव निर्वाचित भएका थिए। यस पटक अध्यक्ष पदका उम्मेदवार बनेका पुरीले पराजय भोग्नुपर्‍यो। युवा संघका इन्चार्ज राजीव पहारीका अनुसार निर्वाचनमा अधिकांश पदमा थेबे नेतृत्वको प्यानल विजयी भएको छ। “निर्वाचनको परिणाम आयो, अध्यक्षसहित पदाधिकारी क्षितिज थेबेको प्यानल विजयी भएका छन्,” पहारीले जानकारी दिए।

अध्यक्ष पदका लागि थेबेले नेतृत्व गरेको प्यानलबाट उपाध्यक्षमा महाराजा गुरूङ र विनय शाही, महासचिवमा महेश चौलागाईं, उपमहासचिवमा उपेन्द्र शाही, खुला सचिवमा मदन भण्डारी र देवु बस्नेत, महिला सचिवमा निशा लिम्बू र मधेशी सचिवमा मोबिन आलम उम्मेदवार थिए। त्यस्तै, पुरी प्यानलबाट उपाध्यक्षमा पर्वत भण्डारी र प्रकाश गौतम, महासचिवमा कुवेर अधिकारी, उपमहासचिवमा खेमराज शर्मा, खुला सचिवमा ध्रुव खड्का र अरुण कुँवर, महिला सचिवमा रेशु तामाङ तथा मधेशी सचिवमा चितरञ्जन यादव उम्मेदवार बनेका थिए।

मंगलबार सम्पन्न निर्वाचनमा देशभरबाट आएका १,७६५ प्रतिनिधिमध्ये १,४०४ जनाले मतदान गरेका थिए। निर्वाचन इलेक्ट्रोनिक भोटिङ मेसिन (EVM) प्रणालीमार्फत सम्पन्न भएको थियो। मतदानका लागि ९ वटा क्षेत्र र ४० वटा मतदान केन्द्र (बुथ) व्यवस्था गरिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्