प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित, गृहमन्त्रीको राजीनामाको मागमा विपक्षी अडिग

काठमाडौं, जेठ १३ — भिजिट भिसा प्रकरणको अनुसन्धान तथा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै विपक्षी दलहरूले सोमबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।

संसद् सचिवालयले सूचना जारी गर्दै बैठक स्थगित गरिएको जानकारी दिएको हो। विपक्षीको अवरोधले बैठक अगाडि नबढेपछि सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षी दलबीच सहमति जुटाउन प्रयास गरे पनि असफल भएपछि बैठक स्थगित गरिएको हो।

सभामुखले उपसभामुख, प्रमुख सचेतक र मुख्य सचेतकसहित सत्ता र विपक्षी दलका नेताहरूबीच संयुक्त छलफल आयोजना गरे पनि सबै दल आ-आफ्नो अडानमा कायम रहेकाले सहमति जुट्न सकेन।

सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले गृहमन्त्री लेखकले सदनमै आफूमाथि लागेका आरोपबारे स्पष्टीकरण दिन पाउनुपर्ने अडान राखेका छन्। तर, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टीलगायत विपक्षीहरू गृहमन्त्रीको तत्काल राजीनामा र घटनाको छानबिनका लागि उच्चस्तरीय समिति गठनको मागमा अडिग रहेका छन्।

भिजिट भिसाको नाममा करोडौं रुपैयाँ असुली गरी नेपाली युवाहरूलाई विदेश पठाउने प्रकरण सार्वजनिक भएपछि सो घटनामा गृहमन्त्रीसमेत संलग्न रहेको विपक्षीको आरोप छ। त्यसैको सन्दर्भमा गृहमन्त्री लेखक सदनमा उपस्थित भएका थिए तर विपक्षीले निरन्तर अवरोध गर्दै बोल्न नदिएपछि संसद सञ्चालन असम्भव भयो।

सभामुखले करिब आधा घण्टाको स्थगनपछि पुनः सहमतिको प्रयास गरे पनि निष्कर्ष ननिस्किएपछि बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्