भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग पूर्वाग्रहपूर्ण: सांसद रामहरि खतिवडा

काठमाडौं, जेठ १३ — नेपाली कांग्रेसका सांसद तथा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्नु पूर्वाग्रहपूर्ण भएको बताएका छन्।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खतिवडाले गृहमन्त्रालय अन्तर्गतका कर्मचारीहरूमाथि भइरहेको अनुसन्धानलाई स्वाभाविक प्रक्रिया ठहर गर्दै गृहमन्त्रीलाई नैतिक जिम्मेवारीका आधारमा राजीनामा दिन माग गर्नु उचित नहुने धारणा राखे। उनले प्रश्न गर्दै भने, “ज–जसलाई उजुरी पर्दै जान्छ, मन्त्रीहरूले राजीनामा दिँदै जाने?”

खतिवडाले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको जनाउँदै दोषी पाइएको जुनसुकै व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए। “एउटा कर्मचारीमाथि निष्पक्ष छानबिन हुन दिनुपर्छ। गल्ती भए जुनसुकै लेभलको मान्छे पनि कारबाहीको दायरामा आउनुपर्छ,” उनले भने।

उनका अनुसार गृह मन्त्रालय अन्तर्गत हजारौं कर्मचारीहरू छन् र तीमध्ये कसैमाथि उजुरी परेको आधारमा मन्त्रीले राजीनामा दिनुपर्ने परम्परा बसाल्नु उपयुक्त हुँदैन। उनले पछिल्लो समय अख्तियारमा उजुरी लेख्नका लागि कार्यालयहरूमा छुट्टै कर्मचारी खटाइने अभ्यास सुरु भएको उल्लेख गर्दै भने, “एउटा कर्मचारी त उजुरीको जवाफ दिनका लागि मात्र राखिएको छ।”

यसैबीच, प्रमुख प्रतिपक्षी दलसहितका विपक्षीहरूले गृहमन्त्री रवीन्द्रप्रसाद लेखक भिजिट भिसा प्रकरणमा संलग्न भएको आरोप लगाउँदै राजीनामा माग गरेका छन्। उनीहरूले अनुसन्धानमा सघाउन गृहमन्त्रीले पदबाट हट्नुपर्ने अडान लिँदै संसद अवरुद्ध गर्दै आएका छन्। साथै, घटनाको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग समेत उनीहरूको रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्