काठमाडौं – गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद्का विपक्षी दलहरूले सोमबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन्।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गरेपछि विपक्षी सांसदहरू उठेर विरोध जनाए। त्यसपछि बोल्न दिइएका प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाको नाममा करोडौं असुलेर मानव तस्करी भएको आरोप गम्भीर भएको बताए।
पुनले निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए। उनले राजीनामा नआएसम्म संसद् बैठक अघि नबढ्ने चेतावनी दिए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पनि गृहमन्त्रीमाथि गम्भीर आरोप लागेकाले पदमा रहँदा निष्पक्ष छानबिन असम्भव हुने भन्दै राजीनामाको माग दोहोर्याए।