काठमाडौँ – पञ्जाव किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ अन्तर्गत सोमबार जयपुरमा भएको रोमाञ्चक खेलमा मुम्बई इन्डियन्सलाई सात विकेटले पराजित गर्दै लिग तालिकाको शीर्ष दुईमा स्थान सुरक्षित गरेको छ। यो जितसँगै पञ्जावले पहिलो क्वालिफायर खेल्न पाउने निश्चित भएको छ।
१८५ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जावले १८.३ ओभरमा मात्र तीन विकेट गुमाएर लक्ष्य सहजै पूरा गर्यो। टोलीका लागि जस इंग्लिसले ४२ बलमा नौ चौका र तीन छक्कासहित ७३ रनको उत्कृष्ट पारी खेले। ओपनर प्रियान्स आर्याले ३५ बलमा ६२ रन बनाए भने कप्तान श्रेयस ऐयरले २६ रन र प्रभसिम्रन सिंहले १३ रनको योगदान दिए।
मुम्बईका मिचेल स्यान्टनरले दुई र जसप्रीत बुमराहले एक विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८४ रन बनाएको थियो। मुम्बईका सूर्यकुमार यादवले ५७ रन बनाउँदै टिमलाई सशक्त आधार दिएका थिए भने र्यान रिकेलटोनले २७, कप्तान हार्दिक पन्ड्याले २६, रोहित शर्माले २४ र नमन धिरले २० रन जोडे।
पञ्जावका बलरहरू प्रदर्शनमा समेत प्रभावशाली देखिए। अर्शदीप सिंह, मार्को जान्सेन र विजयकुमार व्यासकले समान दुई–दुई विकेट लिए भने हरप्रीत ब्रारले एक विकेट हात पारे। १४ खेलबाट १९ अंक जोड्दै पञ्जाव लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने चौथो स्थानमा रहेको मुम्बईले समान खेलबाट १६ अंक जोडेको छ। अब पञ्जावले शीर्ष दुईमा रहँदै प्लेअफको पहिलो चरण अर्थात् क्वालिफायर–१ खेल्ने पक्का भएको छ।