काठमाडौँ – हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रभावका कारण देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ।
मधेस र लुम्बिनी प्रदेशका साथै पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहँदा कोशी, बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। महाशाखाका अनुसार मनसुन हाल अरब सागरको मध्यभाग, महाराष्ट्र, मुम्बई, कर्नाटका, तमिलनाडुको बाँकी भूभाग, तेलाङ्गना, आन्द्र प्रदेश, पश्चिममध्य र उत्तरी बङ्गालको खाडी तथा भारतको पूर्वोत्तर राज्यहरू – त्रिपुरा, मनिपुर, नागाल्याण्ड, अरुणाचल प्रदेश, आसाम र मेघालयका केही भागसम्म प्रवेश गरिसकेको छ। बङ्गालको खाडीबाट मनसुन क्रमशः भारतको बाँकी भूभाग हुँदै नेपालकोतर्फ अग्रसर भइरहेको छ।
आज दिउँसो देशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा र अन्य क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावनासमेत छ।
आज राति पनि मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। यस्तै, मधेससहित अन्य प्रदेशका पहाडी भूभागहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागहरूमा पुनः हल्का वर्षासहित हिमपातको सम्भावना कायम रहनेछ। मौसमको यो अवस्था दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पुर्याउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आम नागरिकलाई अनुरोध गरेको छ।