जसपा सांसद सरोजसिंह कुशवाहाको घरमा अख्तियारको छापा, स्वकीय सचिव नियन्त्रणमा

जनकपुरधाम — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद सरोजसिंह कुशवाहाको घरमा छापा मारेको छ। महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट निर्वाचित सांसद कुशवाहाको घरमा अख्तियारको टोलीले सोमबार बिहान छापा हानेको हो।

छापामारीको क्रममा कुशवाहाका स्वकीय सचिव विनोदकुमारलाल कायस्थलाई अख्तियारले नियन्त्रणमा लिएको छ। साथै, घरबाट विभिन्न योजनासम्बन्धी कागजातहरू समेत बरामद गरिएको अख्तियार स्रोतले जनाएको छ।

स्रोतका अनुसार मधेश प्रदेश सरकारबाट सांसद कुशवाहालाई तोकिएको योजनाहरूलाई व्यक्तिगत लाभका लागि बेचबिखन गरिएको भन्ने गोप्य सूचनाको आधारमा अनुसन्धानका लागि अख्तियारको टोली खटाइएको हो। यद्यपि, कुशवाहा स्वयं हालसम्म सम्पर्कविहीन रहेको जनाइएको छ।

पूर्वआन्तरिक मामिला तथा कानुन राज्यमन्त्री समेत रहेका कुशवाहा दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्