काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा संसद्बाटै माग गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बैठकपछि जानकारी दिँदै मंगलबार बस्ने प्रतिनिधिसभाको बैठकमा रास्वपा सशक्त प्रतिपक्षीको रूपमा प्रस्तुत हुने बताए। भिजिट भिसा प्रकरणमा उठेका प्रश्नका सन्दर्भमा गृहमन्त्रीले अनुसन्धानका लागि मार्ग प्रसस्त गर्नुपर्ने र जवाफ दिनुअघि प्रश्नको सामना गर्नुपर्ने उनको भनाइ छ। “सांसदहरूले प्रश्न सोध्न नपाई गृहमन्त्रीले एकतर्फी रूपमा जवाफ दिने अवस्था हामीलाई स्वीकार्य छैन,” उनले भने, “पहिला हामी तथ्यका आधारमा प्रश्न गर्छौं, त्यसपछि मात्रै गृहमन्त्रीको जवाफ सुनिन्छ।”
उनले कांग्रेसका पदाधिकारीलाई गृहमन्त्री लेखकलाई ‘क्लिन चिट’ दिने अधिकार छैन भन्ने तर्कसमेत प्रस्तुत गरे। “कांग्रेसले आफ्ना नेतामाथि प्रश्न उठ्दा २२ पटकसम्म सदन अवरोध गरेको उदाहरण छ। अहिले हामी त्यसैको स्मरण गराउँदैछौं,” उनले थपे।
रास्वपाले यस विषयमा अरू राजनीतिक दलभन्दा सुदृढ र जिम्मेवार संसदीय अभ्यास प्रस्तुत गर्ने बताउँदै भिजिट भिसा प्रकरणमा निष्पक्ष अनुसन्धानका लागि कांग्रेस स्वयंले सहजीकरण गर्नुपर्ने माग गरेको छ। यसैबीच, संसदमा यस विषयले तातो बहस निम्त्याउने संकेत देखिएको छ। रास्वपाले उठाएको माग र धारणा सत्तापक्षका लागि चुनौती बन्नसक्ने आकलन गरिएको छ।