काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पत्नी निकिता पौडेलले आफूले सर्वोच्च अदालतबाट समेत न्याय नपाएको गुनासो गरेकी छन्। रवि लामिछाने थुनामुक्त नहुँदा सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक अभिव्यक्ति दिँदै उनले न्याय प्रणालीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी हुन्।
निकिताले सर्वोच्च अदालतमा पेस गरिएको गैरकानुनी गिरफ्तारीसम्बन्धी रिटमा निर्णय आउन ढिलाइ भएकोप्रति गुनासो गर्दै लेखेकी छन्, “जेठ ९ गते शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइको अन्तिम दिन थियो। बहस सकिएपछि आदेश कुर्दा कुर्दा ७ घण्टा बित्यो। प्रवक्ता ‘एकैछिन’ भन्दै कार्यकक्षबाट निस्किए, फर्किएनन्। पछि थाहा भयो—आदेश बाहिर अनलाइनमा छापिइसकेको रहेछ। म निवेदक हुँ, तर आदेश मभन्दा पहिला पत्रकारले थाहा पाउँछन्।”
उनले श्रीमान् लामिछानेविरुद्ध प्रमाण नहुँदानहुँदै पनि मुद्दा चलाइएको भन्दै न्यायालयले न त न्याय दिन सक्ने क्षमता देखायो न त मानवीय व्यवहार नै, भनेर आक्रोश प्रकट गरेकी छन्। पौडेलले लेखेकी छन्, “गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीयता मृत भेटेपछि मेरो आस्था र विश्वासको जग बेस्सरी हल्लिएको छ।”
शुक्रबारको दिन आफूका लागि अत्यन्तै पीडादायक रहेको बताउँदै उनले रातभर अनिन्द्रामा बिताएको उल्लेख गरेकी छन्। उनले अगाडि लेखेकी छन्, “शुक्रबारको तनाव, अनिन्द्रा र रुवाई…जिन्दगीकै अत्यन्तै कठिन दिन। भोलिपल्ट भैरहवा जानु थियो, म जिउँदो लास भएर हिँडेछु।”
निकिता पौडेलको अभिव्यक्तिले नेपालको न्याय प्रणालीप्रति प्रश्न उठाउँदै आम नागरिक र पीडित परिवारले पाउने व्यवहारबारे पुनर्विचार गर्नुपर्ने आवश्यकता देखिएको छ।