काठमाडौं — तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतमा प्रतिवादीहरूको बयान सुरु भएको छ। तर, हाजिरी जमानीमा रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं सांसद धवलशमशेर राणा भने सम्पर्कविहीन रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार उनीहरू राज्यविरुद्ध, संगठित अपराध, आपराधिक उपद्रवलगायत चारवटा अभियोगमा अदालतमा मुद्दा दायर भएकामध्ये हाजिरी जमानीमा छुटेका थिए। मिश्रलाई सर्वोच्च अदालतले जेठ २ गते राणालाई स्वास्थ्य उपचारका लागि वैशाख ७ गते हाजिरी जमानीमा छुट दिएको थियो। तर, हालसम्म उनीहरू बयानका लागि उपस्थित भएका छैनन्।
जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले भने, “यदि बयानको समयसीमा भित्र नआएमा कानुनी प्रक्रिया अनुसार पक्राउ गरेर अदालतमा उपस्थित गराउन सकिन्छ।” अदालतमा उपस्थित भएका अन्य प्रतिवादीहरूको बयान सुरु भइसकेको र यो हप्ताभित्र सकिने अपेक्षा गरिएको छ।
सरकारी वकिलको कार्यालयले ५० जना र थप ११ जनाविरुद्ध छुट्टाछुट्टै अभियोगपत्र दायर गरेको छ। ४ बालकविरुद्ध बाल अदालतमा मुद्दा दायर भएको छ। प्रहरीको रायअनुसार १०८ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने भनिए पनि ६५ जनामाथि मात्र अभियोगपत्र दायर गरिएको छ। १८ जना अझै पनि फरार सूचीमा छन्।
तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक बन्दा पत्रकार सुरेश रजक र सर्वसाधारण सविन महर्जनको ज्यान गएको थियो। गोली लागेर २० जना घाइते भएका थिए, जसमा तीन जनाको उपचार अझै जारी छ। प्रदर्शनका क्रममा १५ घर, ३७ निजी संस्था, दुई प्रहरी कार्यालय, ट्राफिक आइल्यान्डसहित ६९ सवारीसाधनमा क्षति पुगेको प्रहरी तथ्यांकमा उल्लेख छ।
राजावादी आन्दोलनका अगुवा दुर्गाप्रसाद प्रसाईँविरुद्ध पाँचवटा कसुरमा सजाय माग गर्दै मुद्दा दायर गरिएको छ। घटनापछि प्रहरीले दुई महिनासम्म अनुसन्धान गरेर ९० जनालाई पक्राउ गरेको थियो।