काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने नेताहरूलाई पार्टीले स्पष्टीकरण सोध्नुपर्ने माग उठेको छ।
सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको नाम जोडिएपछि उत्पन्न परिस्थितिबारे छलफल गरिएको थियो। गृहमन्त्री लेखकले आफू प्रकरणमा संलग्न नरहेको स्पष्ट पार्दै नेताहरूलाई आफ्नो धारणा सुनाएका थिए।
बैठकमा सहभागी नेताहरूले पार्टी भित्रैबाट गृहमन्त्रीको राजीनामा मागिनु अनुचित भएको भन्दै असन्तुष्टि जनाए। वरिष्ठ नेता डा. शशांक कोइरालाले पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्रीको राजीनामा माग गर्ने नेताहरूसँग स्पष्टीकरण माग्नुपर्ने धारणा आएको जानकारी दिए।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार पदाधिकारी बैठकले गृहमन्त्री लेखक निर्दोष रहेको निष्कर्ष निकालेको छ।