भन्सार प्रमुखमाथि कुटपिट : नगर प्रहरी निरीक्षकसहित ४ जना पक्राउ

धनगढी, कैलाली — कैलाली भन्सार कार्यालयका प्रमुख अनन्त तिमिल्सिनामाथि कुटपिट गरेको आरोपमा नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा निरीक्षक धामीका साथै उनका सवारी चालक हसनबहादुर मल्ल, नगर प्रहरी जवान जितेन्द्रसिंह धामी र हवल्दार मणिदत्त भट्ट रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार तिमिल्सिनाले दिएको किटानी जाहेरीका आधारमा उनीहरूलाई झलारी र धनगढीबाट सोमबार बिहान पक्राउ गरिएको हो।

पक्राउ परेकाहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नगर प्रहरी टोलीले शनिबार राति भन्सार कार्यालयभित्रै प्रवेश गरी प्रमुख तिमिल्सिनामाथि कुटपिट गरेका थिए। कुटपिटको घटनालाई पुष्टि गर्ने सीसीटीभी फुटेजसमेत सार्वजनिक भइसकेको छ।

धनगढी उपमहानगरपालिकाले समेत नगर प्रहरी प्रमुख धामीलाई २४ घण्टे स्पष्टीकरण सोधी कारबाही प्रक्रिया अघि बढाइसकेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्