काठमाडौं — नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको स्पष्ट पारेको छ। सोमबार बिहान बसेको पार्टी पदाधिकारी बैठकले गृहमन्त्री लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले गृहमन्त्री लेखकप्रति कांग्रेस विश्वस्त रहेको बताए। “जहाँसम्म गृहमन्त्री जीको कुरा छ, उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौं,” महतले भने, “जो संलग्न छन्, तिनलाई कारबाही हुनुपर्छ।”
उनले गृहमन्त्री लेखकलाई जबरजस्ती जोडेर अफवाह फैलाइएको आरोपसमेत लगाए। कांग्रेसले दोषी पहिचान गरेर कानुनी कारबाही अघि बढाउनुपर्ने पक्षमा आफूहरू दृढ रहेको जनाएको छ।