हिमाल डेन्टल निर्माता रहेको डोटेली चलचित्र ‘डबल ण’ युट्युबमा समेत हेर्न सकिने

काठमाडौँ– सुदूरपश्चिमेली भाषा, संस्कृति र पहिचानमा आधारित डोटेली चलचित्र ‘डबल ण’ युट्युबमा सार्वजनिक भएसँगै व्यापक चर्चा कमाउँदैछ। चलचित्र निरन्तर मिडियाको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो, डेन्टल हस्पिटल निर्माता रहेको उक्त चलचित्र पछिल्लो समय अत्यधिक रुचाइएको छ ।

चलचित्रको निर्देशन भानुभक्त जोशीले गरेका छन् भने कथा सौगात ओझाको लेखनमा आधारित छ। पटकथा भानुभक्त जोशी र सौगात ओझाले संयुक्त रूपमा लेखेका हुन्। छायांकन अमित विकले गरेका छन् भने सम्पादन ललितसिंह साउँदले गरेका हुन्।

भानुभक्त जोशी, पदमभाष्कर जोशी, सौगात ओझा, जुना पाण्डे, ज्योती धामी, भोजराज जोशी, सुरेन्द्र संगम र प्रकाश विष्टको दमदार प्रस्तुति चलचित्रमा देख्न सकिन्छ। साथमा राकेश भट्ट, मदन भण्डारी, नरेश जोशी, स्टार कठायत, माया महरा, सागर उपाध्याय, मान्वी जोशी र एके सिंह धामीको अभिनयले चलचित्रलाई सशक्त बनाएको छ।

गीतको शब्द र लय निर्देशक भानुभक्त जोशीकै रहेको छ भने स्वर भुवन प्रकाश बडू र सौगात ओझाले दिएका छन्।

‘डबल ण’ पछिल्लो राजनीतिक घटनाक्रमलाई वास्तविकताको धरातलमा उभिएर व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको चलचित्र हो। जनताका सपना, नेताहरूका भाषण र व्यवहारबीचको विरोधाभासलाई चलचित्रले सशक्त रूपमा उजागर गरेको छ। सत्ताका खेल, बदलिँदो सत्ता समीकरण र नेताहरूको स्वार्थले जनजीवनमा पार्ने प्रभावलाई व्यङ्ग्यको माध्यमबाट गहिरो सन्देश दिइएको छ। पात्रहरूको संवाद र घटनाहरूले दर्शकलाई हँसाउने मात्र होइन, सोच्न बाध्य बनाउने खालको सामाजिक–राजनीतिक कटाक्ष बोकेको चलचित्र हो ‘डबल ण’।

हिमाल डेन्टल : सेवाबाट सिर्जनासम्मको यात्रा

चलचित्र निर्माणमा निर्माताको रूपमा संलग्न हिमाल डेन्टल हस्पिटल केवल स्वास्थ्य क्षेत्रमा मात्र सीमित नभई कला, भाषा र संस्कृतिको प्रवर्द्धनमा पनि सक्रिय भूमिका निभाइरहेको छ।

यस अस्पतालका संस्थापक डा. राजेन्द्र भट्टको जीवन आफैंमा एउटा प्रेरणादायक चलचित्रजस्तै छ। डाक्टर बन्ने सपना लिएर मुम्बई पुगेका उनी आर्थिक कारणले पढाइ बीचमै छाडेर नेपाल फर्किए। तर उनले त्यो अपूर्ण सपना डेन्टल स्वास्थ्य सेवामा समर्पणमार्फत पुरा गरे।

२०५६ सालमा सानो क्लिनिकबाट सुरु भएको हिमाल डेन्टल हस्पिटल अहिले मुलुकका दर्जनभन्दा बढी शहरमा सेवा विस्तार गरिसकेको छ। चाबहिलस्थित केन्द्रीय कार्यालयमा दैनिक ७ सयभन्दा बढी बिरामी सेवा लिन्छन्, जहाँ ५० भन्दा बढी डेन्टिस्ट तथा कर्मचारी कार्यरत छन्।

डा. भट्टको विश्वास छ – “सेवा भनेको केवल उपचार होइन, मानिसको विश्वास जित्नु पनि हो।” त्यसैले हिमालले काठमाडौंदेखि मुगु, हुम्ला, बाजुरा, डोल्पा, डँडेलधुरा जस्ता दुर्गम स्थानमा समेत निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ।

‘डबल ण’ जस्ता मौलिक चलचित्रको निर्माणमा हातेमालो गरेर हिमाल डेन्टलले भाषा, कला र पहिचानलाई जोगाउने अभियानमा पनि सशक्त भूमिका खेलेको छ। डेन्टल शिक्षासँगै सेवा, सीप, संस्कार र सिर्जनाको संगालो बनेको हिमाल डेन्टल अब ‘नेपालीको आफ्नै अस्पताल’को रूपमा स्थापित हुँदैछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्