जोशीपुर गाउँपालिका अध्यक्षविरुद्ध कम्युनिस्ट युवा संगठनद्वारा कालो मोसो लगाई जनकारबाही

कैलाली — नेकपा (बहुमत) निकट युवा संगठन कम्युनिस्ट युवा संगठन नेपाल ले कैलाली जिल्लाको जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीविरुद्ध कालो मोसो लगाएर जनकारबाही गरेको छ। संगठनले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै चौधरीलाई जनविरोधी, भ्रष्ट र सत्ताको दुरुपयोग गर्ने जनप्रतिनिधिका रूपमा चित्रित गरेको छ।

संगठनका अनुसार अध्यक्ष चौधरी सार्वजनिक पदमा रहेर नैतिकहीन र गैरकानुनी गतिविधिमा संलग्न छन्। उनी सार्वजनिक स्थलहरूमा परस्त्रीहरूसँग मदिरा सेवन गरी मोजमस्ती गर्ने, गाउँपालिकाको सिँचाइ योजना अन्तर्गत वितरण हुने बोरिङ योजनाहरू आफ्ना नजिकका व्यक्ति र समर्थकहरूलाई मात्रै बाँड्ने, र स्वास्थ्य सामग्री खरिद प्रक्रियामा चरम भ्रष्टाचार गर्ने जस्ता आरोपमा मुछिएका छन्।

त्यस्तै, गाउँपालिकाको बजेटमार्फत खरिद गरिने प्रत्येक कोटेशनमा अध्यक्ष चौधरीले १० देखि १५ प्रतिशत कमिशन माग्ने गरेको आरोप समेत संगठनले लगाएको छ। विपद व्यवस्थापन सामग्रीहरू राजनीतिक आस्थाको आधारमा वितरण गर्ने कार्यले जनताको हक–अधिकारको अपमान भएको संगठनको भनाइ छ।

साथै, केही निर्माण व्यवसायीहरूले निर्माणकार्य सम्पन्न गरेपछि पनि अध्यक्ष चौधरीले घूस नपाए भुक्तानी प्रक्रिया अगाडि नबढाउने धम्कीपूर्ण भाषा प्रयोग गर्ने गरेको जनाइएको छ। सेवाग्राहीहरूसँग दुर्व्यवहार गर्ने र शिक्षक दरबन्दी मिलानमा समेत आर्थिक प्रलोभनमा आधारित निर्णय लिनेजस्ता कार्यले उनीप्रति जनआक्रोश बढेको संगठनको भनाइ छ।

कम्युनिस्ट युवा संगठन नेपालले यस्ता गतिविधिको कडा प्रतिवाद गर्दै सार्वजनिक पदमा बसेका व्यक्ति जनताको सेवक हो भन्ने मूल्य र मान्यता भत्काउने काम भएको जनाएको छ। संगठनले सम्बन्धित निकायहरूलाई तत्काल निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्न माग गर्दै, आवश्यकता परे थप जनआन्दोलन गर्ने चेतावनीसमेत दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्