गाजा – आइतबार गजापट्टीको जबालिया क्षेत्रमा इसराइलले गरेको एक भीषण हवाई आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको गजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मारिनेहरूमा स्थानीय सञ्चारकर्मी र उद्धारकर्मीसमेत परेका छन्।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार, जबालिया क्षेत्रमा कार्यरत पत्रकार हसन मज्दी अबु वार्दा आक्रमणमा परेर ज्यान गुमाएका हुन्। अर्कोतर्फ, नुसेरात क्षेत्रमा भएको अर्को आक्रमणमा नागरिक आपतकालीन सेवाका वरिष्ठ अधिकारी अशरफ अबु नार र उनकी पत्नीको मृत्यु भएको जनाइएको छ।
यससँगै अक्टोबर ७, २०२३ यता इसराइली आक्रमणमा गजामा ज्यान गुमाउने पत्रकारहरूको संख्या २२० पुगेको छ।
इसराइली सेनाका चिफ अफ स्टाफ इयाल जामिरले आइतबार खान युनिसमा इसराइली सैनिकहरूसँग भेट गर्दै गजाको युद्ध अनन्तकालसम्म नचल्ने बताएका थिए। उनले हमासका धेरै कमान्ड सेन्टरहरू ध्वस्त पारिएको दाबी गरेका छन्। “हामीसँग भएका सबै उपाय प्रयोग गरेर हमासलाई तहस–नहस पार्नेछौं र बन्धकहरूलाई घर फर्काउनेछौं,” उनले भने।
यसैबीच, रेड क्रसले एक विज्ञप्ति जारी गर्दै गजामा कार्यरत आफ्ना दुई कर्मचारी हवाई आक्रमणमा मारिएको पुष्टि गरेको छ। रेड क्रसले नागरिक हताहतीको चाप बढिरहेको भन्दै तत्काल युद्धविरामको विकल्प नभएको चेतावनी दिएको छ।
गजाबाट सञ्चालित स्थानीय मिडियाहरूले गजापट्टिको करिब ७७ प्रतिशत भूभागमा इसराइली सेनाले नियन्त्रण कायम गरेको जनाएका छन्। जमिन र आकाश दुवैतर्फबाट बमबारी भइरहेकाले सर्वसाधारणलाई जबर्जस्ती विस्थापित गरिएको रिपोर्ट गरिएको छ।
यसैक्रममा, हमास र इस्लामिक जिहादको सशस्त्र शाखाले गजाका विभिन्न क्षेत्रमा इजरायली सेनाविरुद्ध बम र ट्याङ्क विरोधी रकेट आक्रमण गरेको दाबी गरेका छन्।
युद्धविरामका लागि विभिन्न पक्षबाट प्रयास भइरहेको भए पनि अहिलेसम्म ठोस उपलब्धि भने हुन सकेको छैन। यसअघि भएको ४२ दिने युद्धविराम अवधिमा करिब १०० बन्धक रिहा भएका थिए। तर हालसम्म पनि ५० भन्दा बढी व्यक्ति हमासको नियन्त्रणमा रहेको र तीमध्ये केहीको मृत्यु भइसकेको आकलन गरिएको छ।