काठमाडौँ १५ गते एमालेको नियन्त्रणमा हुनुपर्छ : अध्यक्ष ओली

 

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौँ एमालेको पूर्ण नियन्त्रणमा हुनुपर्ने स्पष्ट निर्देशन दिएका छन्।

बागमती प्रदेशमा एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले राजावादी आन्दोलनप्रति लक्षित गर्दै प्रतिगामी शक्तिहरूको भ्रम चिर्न पार्टी पंक्तिलाई सचेत रहन आग्रह गरे।

“राजतन्त्र फर्कने कुनै आधार छैन,” ओलीले भने, “तर प्रतिगामी तत्त्वहरू सलबलाउँदा एमालेहरूको मनोबल गिर्नु हुँदैन। लाज नमानीकन जनतालाई फेरि रैती बनाउने सोच फैलाउनेहरू विरुद्ध जनचेतना बढाउनु आवश्यक छ।”

ओलीले प्रतिगामी भनिएका पक्षहरू जेठ १५ गते गर्ने प्रदर्शनको विरोधमा एमाले कार्यकर्तालाई सक्रिय रूपमा सडकमा उत्रन निर्देशन दिए। “१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौँमा नेकपा एमालेको नियन्त्रण हुनुपर्दछ,” उनले भने, “संस्थागत नेतृत्वलाई लिएर अलमलिनु हुँदैन, सबै मिलेर एकताबद्ध रूपमा अघि बढ्नुपर्छ। आन्दोलनमा प्रोटोकल होइन, परिणाम हेर्ने हो।”

राजावादी आन्दोलन कुनै स्पष्ट र जनपक्षीय उद्देश्य नभएको आरोप लगाउँदै उनले भने, “जनता र सरकार मौन हुँदा यिनीहरूले फुर्तिफार्ति देखाएका छन्। एमाले सडकमा ढ्याङग्रो बोकेर उत्रेपछि यिनीहरू कुन दुलोमा पस्छन् हेर्न बाँकी छ।”

अध्यक्ष ओलीको अभिव्यक्तिले जेठ १५ गतेका लागि एमालेको रणनीति स्पष्ट बनाएको छ। राजधानी काठमाडौँमा हुने राजनीतिक गतिशीलता र सडक प्रदर्शनले आगामी दिनमा शक्ति सन्तुलन कतातिर मोडिन्छ भन्ने कुराको सङ्केत गर्नेछ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्