काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीहरूको बैठक सोमबार बिहान ९ बजेका लागि बोलाएका छन्। बैठक देउवा निवास बुढानीलकण्ठमा बस्ने तय भएको छ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकको प्रमुख एजेन्डा क्रियाशील सदस्यता नवीकरणसँग सम्बन्धित रहेको छ। महामन्त्री गगन थापाले सदस्यता व्यवस्थापन समितिको संयोजकका हैसियतले अहिलेसम्म भएका नवीकरण कार्यको जानकारी दिने तयारी गरिएको पौडेलले बताए।
“महामन्त्री ज्यूले क्रियाशील सदस्यता नवीकरणको अहिलेसम्म भएका कामहरूको व्रिफिङ गर्नुहुनेछ,” पौडेलले भने। कांग्रेसले क्रियाशील सदस्यता नवीकरणका लागि असार मसान्तसम्मको समयसीमा तोकेको छ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुने पौडेलले जानकारी दिए। हालै गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेपछि गृह मन्त्रालय र मन्त्रीको सचिवालय मुछिएको विषयले राजनीतिक तहमा तरंग ल्याएको छ। यस घटनासँग सम्बन्धित विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।