कोटेश्वरबाट सुन जस्तो देखिने धातु र झन्डै २९ लाख नगदसहित एक जना पक्राउ

काठमाडौं — राजधानीको कोटेश्वरबाट सुन र चाँदी जस्तो देखिने धातु तथा झन्डै २९ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–३२ स्थित सेती ओपी मार्गबाट भारत महाराष्ट्र सोलापुर घर भई हाल कोटेश्वरमा श्रीराम ज्वेलर्स सञ्चालन गर्दै आएका २७ वर्षीय योगेश श्रीमन्त मगरलाई पक्राउ गरिएको हो।

प्रहरीले शुक्रबार अपराह्न सुनको अवैध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा कोटेश्वर प्रहरी प्रभागबाट खटिएको टोलीले मगरलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका मगरको साथबाट ७३४.२९ ग्राम सुन जस्तो देखिने धातु, साढे नौ किलो चाँदी जस्तो देखिने धातु र नगद २८ लाख ९३ हजार रूपैयाँ बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसपी अपिलराज बोहराले जानकारी दिए।

बरामद गरिएका धातु परीक्षणका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ। हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्