विराटनगर — नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद शेखर कोइरालाले संघीय निजामती सेवा विधेयकमा प्रस्ताव गरिएको ‘कुलिङ पिरियड’ को व्यवस्था अनिवार्य रूपमा लागू गरिनुपर्ने बताएका छन्। शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै कोइरालाले दुई वर्षको कुलिङ पिरियड राख्नैपर्ने स्पष्ट धारणा व्यक्त गरे।
“दुई वर्ष कुलिङ पिरियड राख्नैपर्छ, राखिन्छ,” कोइरालाले भने, “सचिवहरूले दबाब दिएर यो व्यवस्था फेर्ने कुरा सम्भव छैन। कसैले राजीनामा गरेर देखाउने हो भने त्यसपछि हेर्नुपर्छ।”
उनले कुलिङ पिरियडको व्यवस्था नहुँदा विगतमा सचिवस्तरका कर्मचारीहरू राजीनामा दिएर तत्कालै संवैधानिक निकायमा नियुक्ति लिने प्रवृत्तिमा वृद्धि भएको उल्लेख गरे। “कोही निवृत्त भएको भोलिपल्ट नियुक्त भइसकेका छन्। अहिले २२/२३ जना सचिवहरू संवैधानिक परिषदमा छन्, यसले पोस्ट-रिटायरमेन्ट क्लबजस्तो देखिएको छ,” कोइरालाले कटाक्ष गरे।
राज्य व्यवस्था समितिले संघीय निजामती सेवा विधेयकमा कुनै पनि कर्मचारी सेवा निवृत्त भएको दुई वर्षसम्म संवैधानिक, कूटनीतिक तथा अन्य सरकारी नियुक्तिका लागि अयोग्य हुने व्यवस्था गरेको छ। यसलाई नै बोलीचालीको भाषामा ‘कुलिङ पिरियड’ भनिन्छ। समितिको यो निर्णयले कर्मचारीतन्त्र र राजनीतिबीचको साँठगाँठ तोड्न प्रयास गरिएको बताइन्छ।
तर उक्त प्रावधानप्रति असन्तुष्टि जनाउँदै वर्तमान सचिवहरूले प्रधानमन्त्री तथा प्रमुख दलका नेताहरूलाई भेटेर कुलिङ पिरियडको प्रावधान हटाउन दबाब दिइरहेका छन्। उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत भेटेर आफ्नो असन्तोष सार्वजनिक गरेका छन्।
कोइरालाको भनाइले यो व्यवस्था कार्यान्वयन गरिने सम्भावना प्रबल भएको देखिन्छ। “कसैले चिन्ता लिनु पर्ने अवस्था छैन, कुलिङ पिरियड लागू हुन्छ,” उनले प्रष्ट पारे।