डा. शेखर कोइरालाको टिप्पणी : गृहमन्त्री लेखकलाई राजीनामाको सुझाव, जनमतसंग्रहको पक्षमा समर्थन

काठमाडौं — नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई अध्यागमन विभागमा उठेको भ्रष्टाचारको विषयलाई लिएर नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन्।

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले विगतमा पनि केही मन्त्रीहरूले राजीनामा दिएर छानबिनमा सहकार्य गरेको उदाहरण दिँदै गृहमन्त्री लेखकलाई पनि त्यस्तै गर्न अनुरोध गरे। “नैतिकताको हिसाबमा म क्लिन छु। मैले राजीनामा गरे, छानबिन समिति बनाउनुहोस् भन्नुभयो भने भइहाल्यो नि,” उनले भने, “त्यसले मोरल स्ट्याटस देखाउँछ।”

कोइरालाले संवैधानिक निकायहरू सचिवहरूको ‘रिटायरमेण्ट क्लब’ जस्तो बनेको टिप्पणी गर्दै कर्मचारी प्रशासनमा कुलिङ पिरियडको आवश्यकता औंल्याए।

उनले लोकतन्त्रलाई आफ्नो मूल मूल्य मान्ने राजनीतिक दलहरूले जनमतसंग्रहबाट डराउनु नपर्ने धारणा पनि व्यक्त गरे। कांग्रेस, एमाले र माओवादीले एकजुट भएर हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको विषयमा जनमतसंग्रह गराउन सक्ने अवस्था रहेको उनले उल्लेख गरे।

यसैबीच, कोइरालाले २०८२ सालको मंसिरमा नै नेपाली कांग्रेसको महाधिवेशन हुनुपर्ने आफ्नो अडान पुनः दोहोर्याउँदै पार्टी कार्यकर्ताहरूलाई त्यसका लागि दबाब दिन आह्वान गरे।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्