काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले मुन्ट्याएर फालिसकेको राजतन्त्र कुनै पनि हालतमा फर्कन नसक्ने स्पष्ट पारेका छन्। नेकपा (एमाले) निकट युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा शुक्रबार सम्बोधन गर्दै उनले राजतन्त्र फर्काउने प्रयासहरू सफल नहुने बताए।
राजावादी पार्टी र संघसंस्थाहरूले १५ जेठदेखि गर्ने भनिएको आन्दोलनलाई कटाक्ष गर्दै ओलीले भने, “नेपाली जनताले उल्टाएर राजतन्त्र फालिसक्यो। अर्को संविधान बनिसक्यो। संसद छ, राष्ट्रपति छ, न्यायालय छ, लोकतान्त्रिक व्यवस्था छ, र हामी छौं।”
उनले थपे, “जसले जंगलमा घुमेर जथाभावी जसलाई पायो त्यसलाई समाउँदै, पछार्दै, मार्दै खाँदै गरेको राजतन्त्रलाई हामीले समातेर खोरमा हालेर फेरि खोरबाट पनि निकालेर मुन्ट्याएर फालिदेका छौं। हामी छौं यस देशमा।”
राजावादीहरूले १५ जेठमा राजालाई सिंहासनमा राख्ने गरी गरेको प्रचारप्रति पनि प्रधानमन्त्री ओलीले तीव्र आलोचना गरे। “यो आउने १५ गते राजालाई सिंहासनमा राख्छन् रे। घरैमा बनाएर राख्ने होला। देशको राज सिंहासन भनेको गयो, गइसक्यो,” उनले भने।
प्रधानमन्त्री ओलीको यो वक्तव्यले देशमा लोकतन्त्र र संघीय गणतन्त्रको स्थायीत्वमा पुनः राजतन्त्र फिर्ता गर्ने प्रयासहरू विरुद्ध कडा सन्देश पुगेको छ।