रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सर्वोच्चमा सुनुवाइ

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीद्वारा दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज (शुक्रबार) पनि सर्वोच्च अदालतमा सुनुवाइ जारी रहनेछ।

न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मंगलबारदेखि सुरु भएको सुनुवाइ बिहीबार अधिवक्ताहरूका बहसपछि शुक्रबार पुनः बहसको चरणमा प्रवेश गरेको हो। बिहीबारको सुनुवाइमा लामिछाने र जोशीका तर्फबाट बहस सम्पन्न भएको छ भने सरकारी वकिलको पक्षबाट पनि बहस सकिएको छ। अब जाहेरवालाको तर्फबाट बहस हुनेछ, त्यसपछि जवाफी बहस हुने बताइएको छ।

सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न आरोपमा लामिछाने र जोशी दुवैजना हाल रुपन्देहीको भैरहवा कारागारमा पुर्पक्षका लागि थुनामा रहेका छन्। यसअघि जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई धरौटीमा रिहा गरे पनि उच्च अदालत बुटवलले उक्त आदेश उल्टाउँदै थुनामा राख्न आदेश दिएको थियो।

लामिछानेले उक्त आदेशविरुद्ध समेत सर्वोच्च अदालतमा छुट्टै निवेदन दर्ता गरेका छन् र हाल ती दुई रिटको संयुक्त सुनुवाइ भइरहेको हो।

सर्वोच्च अदालतको आजको फैसलाले लामिछाने र जोशीको थुनामुक्ति सम्भव हुने वा नहुने भन्ने स्पष्ट हुने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्