राष्ट्रिय आदिवासी जनजाती महिला मञ्चको आयोजनामा अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइयो

काठमाडौँ – संयुक्त राष्ट्रसङ्घको आह्वानमा बिहिबार मे २२ तारिखका दिन नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइएको छ । यो दिवस सन् २००२ देखि जैविक विविधता संरक्षणमा सम्बन्धित सबै सरोकारवालाको सक्रिय सहभागिताका लागि प्रत्येक वर्ष मे २२ तारिखका दिन मनाइँदै आएको छ । यस वर्ष ‘”प्रकृतिसँगको सन्तुलन र दिगो विकास”’ भन्ने नाराका साथ नेपालमा पनि यो दिवस मनाइएको छ ।

राष्ट्रिय आदिवासी जनजाती महिला मञ्चको आयोजनामा जैविक विविधताको सचेतनाका लागि एक कार्यक्रम गरिएको छ । कार्यक्रममा वन तथा वातावरण राज्यमन्त्री रुपा विक, “राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना” का टिम लिडर, वन मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगाना, वनस्पति वभागका प्रतिनिधी, आदिवासी, महिला र विभिन्न क्षेत्रका व्यक्तित्वहरुकाे उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै वन तथा वातावरण राज्यमन्त्री रुपा विकले जैविक विविधता नेपालको अमूल्य सम्पदा मात्र नभई अन्तर्राष्ट्रिय पहिचान, आर्थिक स्रोत र पर्यटनको सम्भावना पनि भएको बताएकी छिन्। उनले नेपालको जैविक विविधताको आधारमा अन्तर्राष्ट्रिय स्तरमा फन्ड प्राप्त हुँदै आएको उल्लेख गर्दै यसको संरक्षण अपरिहार्य रहेको धारणा राखिन्।

“जैविक विविधता नेपालको प्राकृतिक सम्पदा मात्र होइन, यो हाम्रो गौरव हो। यसैलाई देखाएर हामीले अन्तर्राष्ट्रिय स्तरमा सहयोग प्राप्त गरिरहेका छौँ, त्यसैले यसको संरक्षण हाम्रो दायित्व हो।”

उनले जैविक विविधता संरक्षणमा आदिवासी जनजाति समुदायहरूको भूमिका उल्लेखनीय रहेको भन्दै परम्परागत ज्ञान र अभ्यासलाई संरक्षण र व्यवस्थापनको मूलधारमा ल्याउनुपर्ने आवश्यकता औँल्याइन्। “हामीले आदिवासी जनजातिहरूको परम्परागत ज्ञान, संस्कृति र प्रकृतिसँगको सम्बन्धलाई सम्मान गर्नुपर्छ। उनीहरू जैविक विविधताको जीवन्त संरक्षक हुन्,” उनले थप भनिन्।

कार्यक्रम पश्चात उपहारखबरसँग कुराकानी गर्दै नेपाल आदिवासी जनजाति महासंघका महासचिव दिवस राईले जैविक विविधता संरक्षणमा आदिवासी समुदायको योगदानलाई ऐतिहासिक र अनमोल बताउँदै यदि आदिवासीहरू नभएको भए आज यो धर्तीमा जैविक विविधता नै नरहने स्पष्ट धारणा व्यक्त गरेका छन्।

राईले आदिवासी जनजाति समुदायहरूले पुरातनकालदेखि नै प्रकृति, वन, वन्यजन्तु र सम्पूर्ण जैविक प्रणालीसँग सहअस्तित्वमा रहेर संरक्षणको अभ्यास गर्दै आएको उल्लेख गरे। “हामीले धर्म, संस्कृति र जीवनशैलीमार्फत जैविक विविधताको रक्षा गर्दै आएका छौँ,” उनले भने, “हामी नहुने हो भने आज जैविक विविधता भन्ने शब्द केवल कागजमा मात्रै बाँकी हुने थियो।” उनले राज्यका नीति तथा कार्यक्रमहरूमा आदिवासी जनजाति समुदायको परम्परागत ज्ञान, अभ्यास र दृष्टिकोणलाई सम्मानपूर्वक समावेश गर्नुपर्ने मागसमेत गरे। साथै, जैविक विविधता संरक्षणमा स्थानीय समुदायको भूमिकालाई संस्थागत रूपमा स्वीकार नगरेसम्म दिगो विकासको लक्ष्य प्राप्त गर्न कठिन हुने तर्क गरे।

उक्त कार्यक्रममा राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (NBSAP) को नयाँ ड्राफ्ट तयार भएको र यसमा के समेट्ने भन्ने विषयमा छलफल समेत भएको थियो। यसै अवसरमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चकी अध्यक्ष सुनी लामा‌ले सरकारले तयार गर्दै गरेको रणनीति तथा कार्ययोजनामा आदिवासी जनजातिहरूको पहिचान, परम्परागत ज्ञान र योगदानलाई अनिवार्य रूपमा समेट्नुपर्ने बताइन्।

“जैविक विविधताको संरक्षणमा हाम्रो परम्परागत सीप, ज्ञान र भूमिसँगको सम्बन्ध अहं भूमिका खेल्छ,” अध्यक्ष लामाले भनिन्, “यसलाई अबको रणनीतिमा संस्थागत रुपमा समेटिनुपर्छ भन्ने सन्देश हामीले सरकारलाई स्पष्टसाथ दिनेछौं। हामी रणनीतिको ड्राफ्टमा सो प्रस्ताव राख्दै छौं।”

जैविक विविधताको दृष्टिकोणले नेपाल विश्वको २५ औँ र एसियाको ११ औँ स्थानमा पर्ने अध्ययनले देखाएको छ । देशको कूल भूभागको ४४ दशमलव ७४ प्रतिशत क्षेत्र वन तथा झाडी बुट्यानले ढाकेको छ । त्यसैगरी, संरक्षित क्षेत्रले नेपालको कूल भूभागको २३ दशमलव ३९ प्रतिशत क्षेत्र ओगटेको छ । सामाजिक–आर्थिक विकास तथा पर्यावरणीय सन्तुलनमा विशेष महत्त्व राख्ने यी प्राकृतिक स्रोतलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना छ ।

वन्यजन्तु एवं जैविक विविधताको संरक्षणमा नेपालले गरेका प्रयास र हासिल गरेका उपलब्धि प्रशंसनीय रहँदै आएको भए तापनि यस कार्यमा केही चुनौती पनि देखापरेका छन् । वन्यजन्तु बासस्थानको विनाश तथा क्षयीकरण, अतिक्रमण, अनियन्त्रित वन डढेलो, मिचाहा प्रजातिको प्रकोप, अव्यवस्थित भौतिक पूर्वाधारको निर्माण, वन्यजन्तुका अङ्गको चोरी निकासी तथा अवैध व्यापार, मानव वन्यजन्तु द्वन्द्व मुख्य चुनौतीका रूपमा रहँदै आएका छन् ।

कार्यक्रममा वातावरणविद्, नीति निर्माताहरू, अनुसन्धानकर्ता र विभिन्न समुदायका प्रतिनिधिहरूको उपस्थिति थियो। कार्यक्रममा जैविक विविधताको महत्त्व, जैविक विविधता महासन्धि, जैविक विविधतामा आदिवासी जनताजी समुदायको भूमिकालगायत विषयमा सहभागीहरूले धारणा व्यक्त गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्