बैतडी – आज बिहानपख बैतडीको खलंगा आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, काठमाडौंका अनुसार भूकम्पको तीव्रता ५.१ म्याग्निच्युड मापन गरिएको हो। भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको छ ।
भूकम्प आज बिहान १ बजेर ४८ मिनेट जाँदा गएको हो। रातको समय भएकाले अधिकांश मानिसहरू गहिरो निद्रामा थिए। एक्कासि महसुस गरिएको भूकम्पको धक्काले स्थानीयहरू त्रसित बनेका छन्। कतिपय स्थानमा मानिसहरू घर बाहिर निस्किएको दृश्य पनि देखिएको बताइएको छ।
हालसम्म भूकम्पले भौतिक या मानवीय क्षति पुर्याएको/नपुर्याएकोबारे स्पष्ट विवरण आइसकेको छैन। जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार सबै युनिटहरू र स्थानीय तहहरूबाट भूकम्पसँग सम्बन्धित सूचना संकलनको प्रक्रिया जारी छ। सुरक्षाका दृष्टिले सतर्क रहन र आवश्यक अवस्थामा स्थानीय प्रशासनसँग सम्पर्क गर्न सरोकारवालाहरूले आग्रह गरेका छन्।