काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौंको सोल्टी होटलमा प्रमुख राजावादी नेताहरूसँग लन्च मिटिङ गरेका छन्। बिहीबार बिहान ११ बजे सुरु भएको भेटवार्ता एक घन्टा चल्यो।
लन्च मिटिङमा ‘संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका प्रमुख केशरबहादुर विष्ट सहभागी थिए।
भेटवार्ताको विषयवस्तुबारे आधिकारिक रूपमा केही खुलाइएको छैन। तर स्रोतका अनुसार, पछिल्ला राजनीतिक घटनाक्रम तथा आगामी आन्दोलनका तयारीहरूबारे छलफल भएको अनुमान गरिएको छ।
‘संयुक्त जनआन्दोलन समिति’ले जेठ १५ गतेदेखि ‘जनआन्दोलन’ सुरु गर्ने घोषणा गरिसकेको छ। समितिको मुख्य एजेन्डामा राजसंस्थाको पुनर्स्थापना, हिन्दु राष्ट्रको पुनर्स्थापना, र संघीयताको खारेजी रहेको छ। उक्त आन्दोलनलाई प्रभावकारी बनाउन समितिले हाल विभिन्न जिल्लाहरूमा दैनिक कार्यक्रमहरू गर्दै आएको छ।
पूर्वराजा शाह पछिल्लो समय राजावादी धारका नेताहरूसँग निरन्तर संवादमा रहेका छन्। यसअघि उनले वैशाख ५ गते राप्रपाका सात जना नेताहरूसँग निर्मल निवासमा लन्च मिटिङ गरेका थिए भने त्यसपछि १२ दिनसम्म नगरकोटमा बसेर विभिन्न नेताहरूसँग भेटवार्ता गरेका थिए।
राजसंस्थाप्रति जनआकर्षण फिर्ता गर्न खोजिएको सन्देशस्वरूप यी गतिविधिहरूलाई हेरिएको छ भने आगामी आन्दोलनमा पूर्वराजाको भूमिकाको अनुमानसमेत गर्न थालिएको छ।