कञ्चनपुर— नेकपा (बहुमत) कञ्चनपुरले डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख तथा वरिष्ठ डिभिजनल वन अधिकृत राम बिचारी ठाकुरमाथि गम्भीर भ्रष्टाचार, अनियमितता र जनविरोधी गतिविधिमा संलग्न भएको आरोप लगाउँदै जनकारबाही गरेको छ। पार्टीका कार्यकर्ताहरूले ठाकुरलाई कालोमोसो दलेर जनकारबाही गरेका हुन्।
नेकपा (बहुमत) कञ्चनपुरका अनुसार ठाकुर विगत लामो समयदेखि विभिन्न जिल्लामा कार्यरत रहँदा सेवाग्राहीसँग कमिशन लिने, ठेकेदारसँग मिलेमतो गर्ने, सरकारी स्रोत साधनको दुरुपयोग गर्ने तथा नीति विपरीत निर्णय लिने जस्ता गतिविधिमा संलग्न रहँदै आएका छन्।
पार्टीले आरोप लगाएको मुख्य विषयमध्ये एक हो—कैलालीको पहलमानपुर वन डिभिजनमा कार्यरत रहँदा भजनी नगरपालिका–७ स्थित चर्रा गाउँका १२५ सुकुम्बासी परिवारहरूलाई उठीबास लगाउने अभियानमा संलग्नता। ती परिवारहरू सन् १९८२ (वि.सं. २०३९) देखि त्यहाँ बसोबास गर्दै आएका थिए।
यस्तै, ठाकुरले महाकाली करिडोर अन्तर्गत कार्यरत रहँदा नियमविपरीत काठ छपान र कटान गराएको, कञ्चनपुर जिल्ला वन कार्यालयअन्तर्गत नर्सरी निर्माणको काममा आर्थिक अनियमिता गरेको र डडेल्धुरा कार्यकालमा सामुदायिक वनहरूबाट उठेको टिसियन रकम ठेकेदारहरूसँग मिलेर हिनामिना गरेको आरोप पनि पार्टीले सार्वजनिक गरेको छ।
पार्टीका अनुसार, उनले २०७० सालदेखि नवीकरण नभएका वनहरूमा वन ऐनविपरीत निर्णय लिएका छन्। साथै, उनले कार्यालयमार्फत वितरण हुने बजेट स्वेच्छाचारी रूपमा कोटेसनमार्फत मनपरी ढंगले वितरण गर्दै आएका छन्।
खैलाड वडा नं. ९ स्थित सरकारी जग्गा कीर्ते गरेर आफ्नो नाममा नामसारी गराएको र अवैध काठ ओसारपसारमा पनि संलग्न रहेको दाबी गरिएको छ। नेकपा (बहुमत) कञ्चनपुरले यस्ता गतिविधिहरूलाई भ्रष्टाचारविरुद्ध जनस्तरबाट उठेको आवाजको रूपमा चित्रण गर्दै सरकार र सम्बन्धित निकायलाई तत्काल ठाकुरमाथि अनुसन्धान गरी कानुनी कारबाही थाल्न माग गरेको छ। पार्टीले भविष्यमा यस्ता भ्रष्ट कर्मचारीहरूलाई जनस्तरबाटै प्रतिरोध गर्ने चेतावनी पनि दिएको छ।