काठमाडौँ — प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बुधबारको बैठक तनावपूर्ण बनेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीले बैठकका दौरान माइक फालिन्, जसले समितिमा झडप र भनाभनको अवस्था सिर्जना गर्यो।
समितिको बैठकमा वार्षिक प्रतिवेदन पास गर्ने कार्यसूची थियो। तर, भ्रमणसम्बन्धी विषयमा अध्यक्ष किरणकुमार साह र सांसदहरूबीच मतभेद देखिएपछि वातावरण उत्तेजित बनेको थियो। समितिका अर्की सांसद सुशीला सिर्पाली बोल्दै गर्दा बैठक हलमा प्रवेश गरेकी कुसारीले बोल्न खोज्दा अध्यक्षले अनुमति नदिएको भन्दै आक्रोश व्यक्त गरेकी थिइन्।
एक सांसदका अनुसार कुसारीलाई बोल्ने मौका नदिइएको भन्दै उनी आक्रोशित भइन् र आफ्नो अगाडि रहेको माइक तथा नेमप्लेट उठाएर फालिन्।”
यद्यपि, माइकले अरू कसैलाई चोट भने लागेको छैन। माइक फालिएपछि सभापति साह र सांसद कुसारीबीच केही बेर भनाभनसमेत भएको थियो। समितिमा यस्तो व्यवहारप्रति केही सांसदहरूले आपत्ति जनाएका छन् भने केहीले सभापतिको व्यवहारलाई असंवेदनशील बताउँदै कुसारीको समर्थन गरेका छन्।
यस घटनाले समितिको कार्यशैली, अनुशासन र सांसदहरूको आचरणबारे पुनः बहस उठाएको छ। संसदीय मर्यादालाई ध्यानमा राख्दै यस्ता घटनाको पुनरावृत्ति रोक्न आवश्यक कदम चालिनुपर्ने आवाज उठ्न थालेको छ।