अपिहिमाल बेसक्याम्पमा पहिलोपटक योग ध्यान शिविर, दार्चुलाको पर्यटनमा नयाँ आयाम !

काठमाडौँ — सुदूरपश्चिमको विकट जिल्ला दार्चुलाको हिमाली गोदमा रहेको अपिहिमाल बेसक्याम्प अब आध्यात्मिक यात्राका पाइलाहरूका लागि पनि खुल्न थालेको छ। अपिहिमाल गाउँपालिकाको पहलमा यही जेठ १६ गते  पहिलोपटक योग ध्यान शिविर सञ्चालन हुने भएको छ। हिमालको काखमा योग र ध्यानको संगम गराउने उद्देश्यले आयोजना गरिँदै गरेको यस शिविरले पर्यटन प्रवर्द्धनसँगै क्षेत्रलाई अन्तर्राष्ट्रिय आध्यात्मिक गन्तव्यका रूपमा चिनाउने अपेक्षा गरिएको छ।

यस विशेष शिविरमा योग गुरु तथा सञ्चारकर्मी सिमोन न्यौपाने प्रशिक्षकका रूपमा रहने छन् भने स्थानीय जनप्रतिनिधि, सर्वसाधारण, पर्यटक तथा विभिन्न क्षेत्रका इच्छुक व्यक्तिहरूको सहभागिता रहनेछ। शिविर सुरु हुनु अघिका दिनहरू— जेठ १२ र १३ गते—गाउँपालिका परिसरमै विविध चेतनामूलक कार्यक्रमहरूमार्फत योग, ध्यान र स्वस्थ जीवनशैलीबारे जागरण कार्यक्रमहरू आयोजना गरिने छन्।

अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहरा भन्छन्, “प्राकृतिक सौन्दर्य, शान्त परिवेश र शुद्ध हिमाली हावाले भरिएको यो क्षेत्र योग ध्यानको लागि उत्कृष्ट स्थल हो। अबका दिनमा यस्ता कार्यक्रमहरूले अपिहिमाललाई अन्तर्राष्ट्रिय योग र पदयात्रा गन्तव्य बनाउने लक्ष्य लिएका छौँ।”

शिविरका अवसरमा ‘स्वस्थ जीवन, खुशी जीवन र क्षमतावृद्धि’ विषयमा विशेष सत्र पनि सञ्चालन गरिनेछ, जसमा नेपाल सरकारका सह-सचिव राजन पौडेल, योग प्रशिक्षक न्यौपाने र अध्यक्ष बोहराले संयुक्त रूपमा सहजीकरण गर्नेछन्।

७,१३२ मिटर अग्लो अपिहिमाल शिखर अँगालोमा फैलिएको अपिहिमाल गाउँपालिका प्राकृतिक, सांस्कृतिक र धार्मिक दृष्टिले गहिरो सम्भावना बोकेको क्षेत्र हो। स्थानीय र विदेशी पर्यटकका लागि ट्रेकिङ तथा पर्वतारोहणको बढ्दो आकर्षणबीच, अब यहाँका हिमाली पग्लिँदै आध्यात्मिक यात्राका पाइलाहरूलाई पनि अँगाल्न थालेका छन्।

पर्यटन प्रवर्द्धनका लागि पालिकाले आवास, होमस्टे, सूचना सुविधा र बेसक्याम्पसम्मको पहुँच सजिलो बनाउन प्रयास गरिरहेको अध्यक्ष बोहराको भनाइ छ। “आन्तरिक र बाह्य पर्यटकलाई सुविधा नपुग्ने अवस्था हुन दिँदैनौँ,” उनले थपे।

अपिहिमालको यो पहल केवल एक शिविर आयोजनामा सीमित छैन; यो एक दीर्घकालीन दृष्यको संकेत हो, जहाँ प्रकृति, आध्यात्मिकता र पर्यटन एकै साथ अघि बढ्छन्। योग ध्यानको शान्त यात्रा अब अपिहिमालको गोदमा सुरु हुँदैछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्