काठमाडौं – जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी हुने प्रक्षेपण गरेको छ। विभागले बुधबार ऋतुगत मनसुन प्रणालीको पूर्वानुमान सार्वजनिक गर्दै प्राकृतिक विपद्का सम्भावनालाई मध्यनजर गर्दै पूर्वतयारीमा जुट्न सबैलाई आग्रह गरेको छ।
वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार स्थान विशेषअनुसार वर्षा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशतसम्म रहेको छ। पूर्वी नेपालमा औसत, मध्य भागमा औसतभन्दा केही धेरै र पश्चिमी भागमा औसतभन्दा धेरै वर्षाको सम्भावना देखिएको छ।
उनका अनुसार प्रिमनसुन सिजनमै सरदरभन्दा बढी वर्षा भएकाले माटोको चिस्यान बढेको छ, जसले गर्दा मनसुन सुरु हुदाँ हुने अत्यधिक वर्षाले पहिरो, बाढी र डुबानजस्ता विपद् निम्त्याउने जोखिम बढाएको छ।
यसअघि भारतको पुणेमा सम्पन्न दक्षिण एसियाली मौसमी पूर्वानुमान मञ्च (सास्कोफ) को बैठकले पनि नेपालसहित दक्षिण एशियाका अन्य मुलुकहरूमा यस वर्ष मनसुन सक्रिय हुने प्रक्षेपण गरेको थियो। सोही प्रक्षेपणलाई आधार मानेर नेपालमा समेत मनसुनको सम्भावित अवस्था सार्वजनिक गरिएको हो। नेपालमा जुनदेखि सेप्टेम्बरसम्मको अवधिलाई मनसुन काल मानिन्छ। सामान्यतया जुन १३ मा सुरु भई अक्टोबर २ सम्म रहने मनसुन अवधिमा वार्षिक कुल वर्षाको ८० प्रतिशत वर्षा हुने गर्दछ।
वर्षा राम्रो हुँदा कृषि उत्पादन वृद्धि हुने आशा गरिए पनि असमान वितरण तथा अत्यधिक वर्षाले जनधनको क्षति निम्त्याउने भएकाले विज्ञहरूले सचेत रहन आग्रह गरेका छन्। विज्ञहरूका अनुसार अत्यधिक वर्षा र तापक्रमले पानीका स्रोत, कृषियोग्य जमिन, बाली चक्र तथा मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने भएकाले जोखिम न्युनिकरणका उपायहरू अवलम्बन गर्नुपर्ने देखिन्छ।
उनीहरूले बाढी पूर्वानुमान प्रणाली, विपद् व्यवस्थापन योजना, बाली विविधीकरण, मौसमअनुकूल बीउ तथा प्रविधिको प्रयोग, र उद्धार तथा राहत तयारीमा जोड दिएका छन्। मनसुन सुरु हुनुअघि नै जोखिम न्यूनीकरण र जनसुरक्षामा केन्द्रित पूर्वतयारी कार्यक्रमलाई प्राथमिकता दिनु अहिलेको आवश्यकता हो।