काठमाडौँ— नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। सर्वोच्च अदालतमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उनलाई शपथ गराए।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा. डा. पौडेललाई केन्द्रीय बैंकको १८औँ गभर्नरमा नियुक्त गरेको हो। सुस्त अर्थतन्त्रलाई पुनः गति दिने र बैंकिङ क्षेत्रलाई खराब कर्जाको चपेटाबाट सुरक्षित अवतरण गराउनु उनको प्रमुख चुनौतीका रूपमा देखिएको छ।
विगतमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का आर्थिक सल्लाहकार, इसिमोड बोर्ड अफ गभर्नर अध्यक्ष, कोलम्बो योजना परिषद् अध्यक्ष लगायतका महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका पौडेल अब्बल युवा अर्थशास्त्रीका रूपमा परिचित छन्।
चितवन क्षेत्र नं. १ बाट २०७९ को आमनिर्वाचनमा पराजित भएपनि शिक्षण क्षेत्रमा फर्किएका पौडेल नेपाली कांग्रेसको सिफारिसमा राष्ट्र बैंकको गभर्नरमा पुगेका हुन्। उनले क्यालिफोर्निया विश्वविद्यालय, बर्कलेबाट कृषि तथा स्रोत अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् भने चीनबाट इन्जिनियरिङमा स्नातक गरेका थिए। इन्जिनियरिङ अध्ययनकै क्रममा अर्थशास्त्रप्रति आकर्षित भएका उनी काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका प्राध्यापकसमेत हुन्।
गभर्नर नियुक्त हुनुअघि सानिमा बैंकका सञ्चालक, मिलेनियम च्यालेन्ज कर्पोरेसन नेपालमा अर्थशास्त्री, तथा युलेन्स स्कुल अफ म्यानेजमेन्टको बोर्ड अफ ट्रस्टीको सदस्यका रूपमा पनि कार्य गरिसकेका पौडेलको अनुभवले राष्ट्र बैंकको नेतृत्वमा नयाँ गति र विश्वास दिने अपेक्षा गरिएको छ।