काठमाडौं – काठमाडौं–धादिङलाई जोड्ने प्रमुख सडक मार्ग नागढुङ्गा–नौबिसे सडकखण्ड यही जेठ १० गतेदेखि २५ गतेसम्म प्रत्येक दिन दिउँसो साढे ४ घण्टा बन्द गरिने भएको छ।
सडक सुधार तथा पिच गर्ने कार्यलाई तीव्रता दिन निर्माण आयोजना कार्यालयको प्रस्तावअनुसार बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिएका छन्। यो निर्णय धादिङ जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर लिइएको हो।
यसअघि वैशाख २२ देखि ३१ गतेसम्म रातिको समयमा मात्रै सडक बन्द गरेर काम हुँदै आएकोमा, अब निर्माणको प्रविधिगत आवश्यकतालाई ध्यानमा राख्दै दिउँसोको समयमा समेत सडक बन्द गरिने भएको हो। नागढुङ्गादेखि नौबिसेसम्मको सडक खण्डमा मोड सुधार, फराकिलो बनाउने र पिच गर्ने कार्य जारी छ।
सडक बन्दको समयमा काठमाडौंबाट बाहिरिने सवारीसाधन नागढुङ्गामा र नौबिसेबाट काठमाडौं प्रवेश गर्ने सवारीसाधन खानीखोलामा रोकिनेछन्। वैकल्पिक मार्गको रूपमा धार्के–सितापाइला तथा टोखा–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न स्थानीय प्रशासनले यात्रु तथा सवारीधनीहरूलाई अनुरोध गरेको छ। सडक निर्माण सम्पन्न नभएसम्म यसखाले अस्थायी व्यवस्था लागू हुने बताइएको छ। यात्रुहरूलाई आवश्यक सावधानी अपनाउन र समय व्यवस्थापन गरी यात्रा गर्न प्रशासनको आग्रह छ।