काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले मिटरब्याज पीडितको समस्यामा सरकारले गम्भीरता नदेखाएको भन्दै कडा प्रश्न उठाएकी छन्।
मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सरकारसँग सोधिन्, “मिटरब्याज पीडितले न्याय कहिले पाउने?” उनले न्याय दिनभन्दा आन्दोलन गराउनमै राज्य लागेको आरोप लगाइन्।
श्रेष्ठले गौरीबहादुर कार्की र तेजबहादुर कार्कीको नेतृत्वमा बनेका आयोगले दिएका सुझाव र कार्यविधि लागू गर्न सके ८० प्रतिशत समस्या समाधान हुने दाबी गरिन्। “तर त्यसका लागि दोषीलाई कारबाही गर्नुपर्छ,” भन्दै उनले पीडितलाई झनै पीडा दिने काम भइरहेको बताइन्।
उनले अघिल्लो आयोगलाई असहयोग गरिएको र अहिले अर्को आयोग केवल “काम चलाउ प्रतिवेदन” तयार गर्न बनाइएको आरोप पनि लगाइन्।
सिंहदरबार प्रवेशमा मिटरब्याज पीडितलाई “नो इन्ट्री” भनिएकोप्रति आक्रोश व्यक्त गर्दै श्रेष्ठले भनिन्, “हाम्रा साहु-महाजन जोगाउन पीडितमाथि राजनीति नगरौं। उनीहरूलाई न्याय दिऔं।”