विश्वनाथ पौडेल गभर्नर बन्ने पक्का, आजै मन्त्रिपरिषदले नियुक्त गर्ने

काठमाडौं — लामो समयदेखि रिक्त रहेको नेपाल राष्ट्र बैंकको गभर्नर पदमा प्रा.डा. विश्वनाथ पौडेललाई नियुक्त गर्ने सहमति प्रमुख सत्ता दलहरूबीच जुटेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मंगलबार बिहान बालुवाटारमा भएको छलफलमा पौडेलको नाममा सहमति बनेको हो।

विश्वनाथ पौडेल यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र गभर्नर सिफारिस समितिका सदस्यसमेत भइसकेका छन्। नेपाली कांग्रेसले उनलाई गभर्नरका लागि अघि सारेपछि पौडेलले सिफारिस समितिबाट राजीनामा दिएका थिए, जसलाई सत्ता साझेदार दलहरूबीचको शक्ति सन्तुलनको संकेतका रूपमा लिइएको छ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली सुरु देखिनै कांग्रेसले अघि सारेको उम्मेदवारलाई स्वीकार गर्न तयार थिए। यद्यपि, प्रधानमन्त्रीको स्वास्थ्य अवस्था केही बिग्रिएको कारण सोमबार बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको थियो। यसले गभर्नर नियुक्ति केही समयका लागि लम्बिएको हो।

कांग्रेस नेताहरूको बैठक र देउवा–ओली भेट
सोमबार साँझ कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको निवासमा गृहमन्त्री रमेश लेखक, महामन्त्री गगन थापा लगायतका नेताहरूको बैठक बसेको थियो। बैठकमा गृहमन्त्री लेखकले प्रधानमन्त्रीको अस्वस्थताका कारण देउवा–ओली भेट नहुनु र मन्त्रिपरिषद् बैठक स्थगित हुनुको कारण बताइएका थिए।

मंगलबार बिहान सभापति देउवा बालुवाटार गइ प्रधानमन्त्री ओलीसँग भेट गरे। भेटमा देउवाले भनेका थिए, “अब यो विषय धेरै नलम्ब्याऔं, मलाई पनि धेरै दबाब बढ्यो, बाहिर पनि हल्ला धेरै भयो।” देउवाको यस आग्रहपछि ओली पौडेललाई गभर्नर बनाउने निर्णयमा सहमत भएको उच्च स्रोतले जनाएको छ।

आजै मन्त्रिपरिषद्बाट निर्णय हुने तयारी
स्रोतका अनुसार, आज साँझ मन्त्रिपरिषद् बैठक बस्दैछ। त्यसअघि गभर्नर सिफारिस समितिको बैठक बोलाइएको छ, जसले पौडेलको नाम औपचारिक रूपमा मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ।

सिफारिसअनुसार मन्त्रिपरिषद्ले आजै पौडेललाई गभर्नरमा नियुक्त गर्ने तयारी गरेको छ। योसँगै लामो समयदेखि अपूरो रहेको राष्ट्र बैंकको नेतृत्व अब स्थायीतर्फ उन्मुख हुने अपेक्षा गरिएको छ।

विश्वनाथ पौडेल को हुन्?
प्रा.डा. विश्वनाथ पौडेल नेपालको अर्थनीति, वित्तीय अनुशासन र योजना निर्माणको क्षेत्रमा दिगो योगदान दिएका व्यक्तित्व हुन्। उनी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहिसकेका छन् र विभिन्न सरकारका आर्थिक सल्लाहकारको भूमिकामा रहेर नीतिगत सुझाव दिने कार्यमा सक्रिय भएका थिए।

गभर्नरका रूपमा अब उनले मुलुकको मौद्रिक नीति, वित्तीय स्थायित्व, मुद्रास्फीति नियन्त्रण, तथा बैंकिङ प्रणालीको सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्