काठामडौँ – खप्तडछन्ना गाउँपालिका–३ मा तारागाउँ विकास समितिद्वारा पाँच दिने होमस्टे सञ्चालन तालिम सुरु हुने भएको छ।
वडाको आधिकारिक सूचनाअनुसार स्थानीयस्तरमै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले आयोजना गरिएको यस तालिममा सहभागिताका लागि इच्छुक नागरिकहरूलाई आफ्नो नागरिकता प्रमाणपत्रसहित निवेदन लिएर जेठ १४ गते वडा कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ। तालिममा होमस्टे व्यवस्थापन, पाहुना स्वागत सत्कार, स्थानीय खाना तथा संस्कृति प्रस्तुतिको तरिका, सरसफाइ, पर्यटकसँगको व्यवहारलगायत विषयमा व्यावहारिक ज्ञान प्रदान गरिने वडा अध्यक्ष गौरी कुमारी अधिकारीले जानकारी दिनुभयो।
वडा अध्यक्ष अधिकारीका अनुसार गाउँमा आन्तरिक तथा विदेशी पर्यटकको आगमन बढ्दो क्रममा रहेको र स्थानीय स्रोतसाधनको उपयोग गरी आम्दानीको नयाँ बाटो खोल्न सकिने सम्भावनाका आधारमा तालिम आयोजना गरिएको हो। उहाँले तालिमपछि सहभागीहरूले आफैंले होमस्टे सञ्चालन गरी आयआर्जन गर्न सक्ने वातावरण तयार हुने विश्वास व्यक्त गर्नुभयो।
गाउँपालिका क्षेत्रलाई पर्यटकीय दृष्टिकोणले समृद्ध बनाउने योजनाअन्तर्गत सञ्चालन गरिन लागेको यो तालिम गाउँको आर्थिक सशक्तीकरण तथा स्वदेशमै अवसर सिर्जनाको एउटा कोशेढुंगा हुने आयोजकको अपेक्षा रहेको छ।