काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा काठमाडौँ महानगरका मेयर बालेन शाह अनुपस्थित रहेको विषयमा चासो व्यक्त गरेपछि मेयर शाहले सामाजिक सञ्जालमार्फत् कडा प्रतिक्रिया दिएका छन्।
सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा उपमेयर सुनिता डंगोल उपस्थित भए पनि प्रमुख मेयर बालेन शाह अनुपस्थित थिए। उक्त बैठकमा प्रधानमन्त्री ओलीले मेयरको अनुपस्थिति अप्रत्याशित भएको भन्दै यस्ता राष्ट्रिय महत्वका बैठकमा अनिवार्य उपस्थिति हुनुपर्ने टिप्पणी गरेका थिए।
तर, प्रधानमन्त्रीको भनाइ सार्वजनिक भएपछि बालेन शाहले सामाजिक सञ्जालमा लेखेका छन्,
“जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा, देशका सबै पार्टी मिलेर ‘भ्रष्टचारी जोगाउँछु’ भन्छन्, त्यस्तो निकायको कार्यक्रममा म जानु पर्ने कारण छैन। Sorry KP Oli, I don’t support your corrupt system ”
शाहको यो भनाइले राजनीतिक वृत्तमा थप बहस जन्माएको छ। उनका समर्थकहरूले भ्रष्टाचारविरोधी स्पष्ट अभिव्यक्तिको रुपमा समर्थन जनाइरहेका छन् भने आलोचकहरूले औपचारिक बैठक र परम्परागत प्रक्रियालाई अपमानजनक व्यवहार गरेको टिप्पणी गरेका छन्।
प्रधानमन्त्री ओलीले बैठकमा भनेका थिए, “यस्ता महत्त्वपूर्ण बैठकमा जनप्रतिनिधिको उपस्थिति हुनुपर्छ। तर कुनै पनि बैठकमा उपस्थित हुनुपर्ने जनप्रतिनिधि उपस्थित भएको पाइँदैन। आगामी दिनमा यस्तो नहोस् र अनिवार्य उपस्थिति हुनुपर्छ।”
गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले जेठ १४, १५ र १६ गते त्रिदिवसीय रुपमा दीप प्रज्वलनसहित गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ। मुख्य कार्यक्रम जेठ १५ गते सैनिक मञ्च, टुँडिखेलमा हुनेछ।
बालेनको प्रतिक्रिया र प्रधानमन्त्रीको टिप्पणीबीचको यो विषय आगामी दिनमा थप राजनीतिक तरंग ल्याउने निश्चित छ।