“नेतृत्व टिमबाट आउँछ, व्यक्ति केन्द्रित बहस आवश्यक छैन : पुन”

File Photo

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पछिको पार्टी नेतृत्वबारेको बहसलाई निरर्थक बताएका छन्। उनले उपयुक्त समय आएपछि विधिबाटै नयाँ नेतृत्व चयन हुने स्पष्ट पारेका छन्।

भक्तपुरमा सोमबार आयोजित वाइसीएल (योङ कम्युनिस्ट लिग) बागमती प्रदेशको अधिवेशन उद्घाटन गर्दै पुनले पार्टीको पछिल्लो महाधिवेशनमै नेतृत्वको श्रृङ्खला तयार पार्ने विधि तय भइसकेको र त्यसैअनुसार सबै तहमा अभ्यास सुरु भएको बताएका हुन्।

“कसैले भन्छन्, प्रचण्डपछि माओवादीमा नेता को हुन्छ? पार्टी रहन्छ कि? हामी भन्छौं, पार्टी रहन्छ र चल्छ,” पुनले भने, “प्रचण्डजस्तो टावरिङ पर्सनालिटी नहुन सक्छ, तर नेतृत्व टिमबाट आउँछ।”

उनले पार्टी अध्यक्ष प्रचण्डले जनयुद्धको तयारीदेखि शान्ति प्रक्रिया पार गर्दै समाजवादको आधार तयार गर्ने नेतृत्व दिएको उल्लेख गर्दै, प्रचण्डप्रति जनताको आकर्षण अझै बढिरहेको दाबी गरे। पुनका अनुसार, अध्यक्ष प्रचण्ड र उनका समकालीन नेताहरू आकस्मिकता र ऐतिहासिक आवश्यकताबाट उत्पन्न नेतृत्व हुन्। “प्रचण्डको नेतृत्व इतिहासको आवश्यकताको उपज हो,” उनले भने।

उनले अझै केही समयसम्म प्रचण्डको नेतृत्व बलियो र सम्मानित बनाउँदै लैजानुपर्नेमा पार्टीभित्र कुनै मतभेद नरहेको पनि स्पष्ट गरे। फरक प्रसंगमा पुनले वर्तमान काँग्रेस–एमाले गठबन्धन सरकारप्रति पनि कटाक्ष गरे। उनले यो सरकार बिचौलिया र स्वार्थ समूहको मिलेमतोमा बनेको दाबी गर्दै, “गाउँगाउँसम्म यो सरकार बिचौलियाले बनाएको सरकार भनेर चिनिन थालिसकेको छ,” भने।

“हामीले संसदमै भनेका थियौं, अहिले सबैजसोले त्यही कुरा गर्न थालेका छन्। कतिपय अवस्थामा त हामीले कम नै भनेका रहेछौं जस्तो पनि देखिन्छ,” उनले थपे।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्