काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह अनुपस्थित रहेको विषयमा चासो व्यक्त गरेका छन्।
बैठकमा काठमाडौं उपमेयर सुनिता डंगोल सहभागी भए पनि प्रमुख मेयर शाह नदेखिएपछि प्रधानमन्त्री ओलीले अप्रत्यक्ष रूपमा उनको अनुपस्थिति प्रती आपत्ति जनाएका थिए। यस्ता महत्त्वपूर्ण राष्ट्रिय बैठकमा जनप्रतिनिधिहरूको उपस्थितिको आवश्यकता रहेको भन्दै उनले आगामी बैठकहरूमा अनिवार्य उपस्थिति सुनिश्चित गर्न निर्देशन दिएका हुन्।
प्रधानमन्त्री ओलीले भने, “यस्ता महत्त्वपूर्ण बैठकमा जनप्रतिनिधिको पनि उपस्थिति हुनुपर्छ। तर कुनै पनि बैठकमा उपस्थित हुनुपर्ने जनप्रतिनिधि उपस्थित भएको पाइँदैन। आगामी दिनमा यस्तो नहोस् र अनिवार्य उपस्थिति हुनुपर्छ।”
बैठकमा गृह मन्त्रालयले गणतन्त्र दिवसको मूल समारोह समिति र त्यस अन्तर्गतका विभिन्न उपसमितिहरूको गठन, दिवस मनाउने कार्यक्रम र कार्ययोजना प्रस्तुत गरेको थियो। बैठकले आगामी जेठ १४, १५ र १६ गते त्रिदिवसीय रूपमा गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ। प्रत्येक दिन साँझ सार्वजनिक निकायहरूमा दीप प्रज्वलन गरिनेछ।
जेठ १५ गतेको मुख्य समारोह सैनिक मञ्च टुँडिखेलमा हुनेछ, जहाँ मूल समारोह समितिको कार्यक्रम सञ्चालन हुनेछ। यस्तै, विदेशस्थित नेपाली दूतावास, कूटनीतिक नियोग र वाणिज्य दूतावासहरूमा पनि गणतन्त्र दिवस मनाइने छ।
प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई भव्य रूपमा जनस्तरसम्म पुर्याएर मनाउन आह्वान गर्दै यो दिन केवल औपचारिकतामा सीमित नराख्न आग्रह गरेका छन्।