काठमाण्डौ— मौसम अनुकूल भएसँगै हिजो एकैदिन १३५ जना आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन्। पर्यटन विभागका अनुसार वसन्तयामको आरोहणमा यो सबैभन्दा ठूलो संख्या हो।
सगरमाथाको आधारशिविरस्थित विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार पछिल्ला तीन दिनदेखि व्यापक संख्यामा आरोहण भइरहेको छ। अहिलेसम्म दुई सयभन्दा बढीले आरोहण गरिसकेका छन् भने आज पनि थुप्रै आरोही शिखरतर्फ अघि बढिरहेका छन्।
यसैबीच फोटो पत्रकार पूर्णिमा श्रेष्ठले पाँचौं पटक सगरमाथा चढ्न सफल भएकी छन्। उनले गत वर्ष एउटै याममा तीन पटक सगरमाथा चढेर विश्व कीर्तिमान बनाएकी थिइन्।
विभागका अनुसार यस वसन्तमा ४७ आरोही समूहका ८६ महिला र ३८२ पुरुषसहित ४६८ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन्।