विराटनगर – मोरङको रतुवामाई नगरपालिका–६ स्थित त्रिवेणी चोकमा आइतबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको ज्यान गएको छ। दुर्घटनामा रतुवामाई नगरपालिका–५ की ४५ वर्षीया भवानी मेहताको मृत्यु भएको हो।
मोटरसाइकल उनका छोरा रमेश मेहताले चलाएका थिए। प्रहरीका अनुसार आमबारीबाट उर्लाबारीतर्फ गइरहेको प्रदेश १–०२–०४५ प ९०६० नम्बरको मोटरसाइकल रतुवामाई–६ त्रिवेणी चोकमा अचानक सडकमा आएको कुकुरलाई जोगाउने प्रयासमा अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भवानी मेहता गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि रंगेली अस्पताल पुर्याइए पनि साँझ ७ः१० बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनापछि मोटरसाइकल चालक २३ वर्षीय रमेश मेहतालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।