जुम्लाको गुठीचौरमा चट्याङले २२ वटा च्याङ्ग्रा मरे, दुई गोठाला घाइते

काठमाडौँ – जुम्लाको गुठीचौर गाउँपालिका–२ मा चट्याङ लागेर २२ वटा च्याङ्ग्रा मरेका छन् भने दुई जना गोठाला घाइते भएका छन्। शनिबार साँझ गुठीचौर गाउँपालिका नजिकैको महादेव सामुदायिक वनमा चराएर फर्काइँदै गरेका च्याङ्ग्रा झुलेनी खोला पारिको वनको पाखामा आइपुग्दा अचानक चट्याङ परेको हो।

वडाध्यक्ष दीपबहादुर ऐडीका अनुसार गोठी गाउँका हिराबहादुर ऐडीका १६ वटा र धनकृष्ण रोकायका ६ वटा च्याङ्ग्रा मरेका छन्। “१०० भन्दा बढी च्याङ्ग्रा चराउन लगाइएको थियो, फर्कँदै गर्दा अचानक चट्याङ पर्दा २२ वटा च्याङ्ग्रा मरे,” उनले अनलाइनखबरसँग भने।

स्थानीय वीरेन्द्र बुढाका अनुसार चट्याङको झट्काले गोठाला हिराबहादुर ऐडी र धनकृष्ण रोकाया घाइते भएका छन्। चट्याङले लागेर उनीहरू झन्डै एक घण्टा बेहोस भएका थिए। “एक घण्टापछि हिराबहादुर होसमा आए, त्यसपछि उनले धनकृष्णलाई पनि बेहोस अवस्थामा फेला पारेका थिए। केहीबेरमै धनकृष्णको पनि होस खुल्यो,” उनले भने।

होस खुल्नेबित्तिकै हिराबहादुरले गाउँमा फोन गरी उद्धारका लागि आग्रह गरेका थिए। स्थानीयवासीले राति करिब ९ बजेतिर उनीहरूलाई उद्धार गरी घर ल्याएका थिए। चोटग्रस्त धनकृष्ण रोकायको दाहिने खुट्टामा चोट लागेकाले हिँड्न नसक्ने अवस्थामा रहेको र थप उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको छ।

च्याङ्ग्रा मर्दा झन्डै ३ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। वडाध्यक्ष ऐडीका अनुसार चट्याङ पीडित किसानहरूलाई क्षतिपूर्ति दिलाउन गाउँपालिका अध्यक्षसँग समन्वय भइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्