रसुवामा ठूलो परिमाणमा सुन बरामद, अनुसन्धान जारी

File Photo

काठमाडौं — रसुवाबाट ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय, रसुवाले विशेष सूचनाका आधारमा कारबाही गर्दै उक्त सुन बरामद गरेको प्रहरी स्रोतले जानकारी दिएको छ।

रसुवा प्रहरीले बरामद गरिएको सुन हाल जोख्ने प्रक्रिया भइरहेको बताएको छ। यद्यपि, बरामद सुनको परिमाणबारे भने प्रहरीले आधिकारिक रूपमा खुलाएका छैनन्। रसुवा जिल्ला प्रहरी प्रमुख एसपी हेमबहादुर शाहीले सुन बरामद भएको पुष्टि गरे पनि विस्तृत विवरण दिन बाँकी रहेको जानकारी दिएका छन्।

पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सानो परिमाणमा सुन ल्याइने प्रवृत्तिमा कमी आएको छ भने उत्तरी नाका हुँदै ठूलो परिमाणमा सुन भित्र्याउने क्रम बढेको देखिएको छ। प्रहरीका अनुसार वैदेशिक रोजगारीमा गएकाहरुलाई ‘करिअर’को रूपमा प्रयोग गरेर विमानस्थल हुँदै सुन भित्र्याइने र पछि ती साना परिमाणका सुन संकलन गरेर तस्करी गरिने प्रवृत्ति पहिलेदेखि नै रहेको छ।

तर, पछिल्लो समयमा चिनियाँ सीमावर्ती नाका हुँदै प्रत्यक्ष किलोको दरमा सुन ल्याएर भारततर्फ पठाउने गिरोह सक्रिय हुँदै आएको आशंका प्रहरीले गरेको छ। बरामद सुनसम्बन्धी विस्तृत विवरणसहित थप अनुसन्धान अघि बढाइएको रसुवा प्रहरीले जनाएको छ।

नेपालबाट तस्करी हुने सुनमध्ये ठूलो हिस्साले भारतीय बजारमा खपत हुने गरेको विभिन्न अनुसन्धान प्रतिवेदनले देखाएका छन्। सुन तस्करीको शृंखला रोक्न प्रहरीले सीमावर्ती नाकाहरूमा निगरानी कडा बनाउँदै लगेको जनाएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्