काठमाडौं – नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा सिमान्तकृत वर्गसम्म विकासको प्रतिफल पुग्ने गरी नीति निर्माण गर्न सरकारलाई आग्रह गरेका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साउदले बजेट निर्माणको पूर्वसन्ध्यामा रहेको अवस्थामा सरकारलाई सुझाउँदै विगतका अनुभवबाट पाठ सिकेर असमानताको अन्त्य गर्ने दिशामा बजेट निर्माण गर्नुपर्ने धारणा राखे।
‘हरेक वर्ष बजेट आउने गरेको छ । यस वर्ष पनि बजेटको पूर्वसन्ध्यामा आएका छौँ । बजेटको सिद्धान्त र प्राथमिकता सरकारले नै निर्धारण गरेको होला । नीति तथा कार्यक्रममा छलफल भएको छ,’ उनले भने।
सांसद साउदले विगतका बजेटमा अभिजात्य वर्ग र प्रभावशाली समूहहरूको प्रभाव रहँदै आएको भन्दै असन्तुलित विकास र आवाजविहीन समुदायको वेवास्तालाई गम्भीरतापूर्वक लिनुपर्ने बताए। उनले भने, ‘नेपालमा असन्तुलित विकास र प्रभावशालीहरुले बजेटमा हाली मुहाली गर्ने कुरामा लामो समयदेखि विवाद हुँदै आएको छ । शहर र गाउँ, सुगम र दुर्गम, भूगोल र जनसंख्या तथा सशक्त आवाज भएका अभिजात्य वर्ग र आवाजविहीनहरूको हितको अन्तरविरोधलाई अनुभवी अर्थमन्त्रीले संयोजन र सम्बोधन कसरी गर्नुहुन्छ ?’
उनले सामाजिक न्यायको आधारमा बजेट निर्माण गर्नुपर्ने उल्लेख गर्दै सिमान्तकृत, पछाडि पारिएका समुदायका हित सुनिश्चित हुने खालको समावेशी बजेट ल्याउन सरकारलाई सुझाव दिए।