‘कर्णालीसँग सरकार मजाक गरिरहेको छ’ – सांसद विनिता कठायत

काठमाडौँ- प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विनिता कठायतले कर्णाली प्रदेशप्रति सरकारको व्यवहारलाई ‘मजाक’को संज्ञा दिँदै कडा आलोचना गरेकी छन्।

आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद कठायतले कर्णालीका गम्भीर विषयमा सांसदहरूले निरन्तर आवाज उठाइरहे पनि सरकारले कमजोर र हल्का ढंगले जवाफ दिने गरेको आरोप लगाइन्।

‘कर्णालीलाई क्षति भएकै निष्कर्ष हो भने क्षतिपूर्तिसहितको राज्यको लगानी खोजिरहेका छौँ,’ उनले भनिन्, ‘तर सरकार मजाक गरिरहेको हुन्छ।’ उनले राज्यले अन्यत्र गरेका लगानी र कर्णालीमा भएको लगानीको तुलना गर्न माग गरिन्।

सांसद कठायतले विगतमा बनेका संरचना मात्रै गनाएर सरकार चुप लाग्ने प्रवृत्तिप्रति पनि आक्रोश व्यक्त गरिन्। ‘३० को दशकमा बनेको एअरपोर्ट, ६० को दशकमा बनेको सुर्खेत–जुम्ला कोरिडोर, बाबुराम भट्टराईको पालामा बनेको कर्णाली स्वास्थ्य प्रतिष्ठान र चन्दननाथ बाबाले रोपेको मार्सी धानको मात्रै गुणगान गाइन्छ,’ उनले भनिन्।

उनले वर्तमान सरकारसँग कर्णालीका लागि के गर्‍यो र आगामी योजनामा के छ भन्ने स्पष्ट जवाफ माग गर्दै तत्कालीन दृष्टिकोण परिमार्जन गर्न पनि चुनौती दिइन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्